विशाल ग्रुपको ठगीधन्दा : उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड, अन्य केही प्रोडक्टसमेत गुणस्तहीन

काठमाडौं । कोरोना कहरबीच केही ठूला उद्योगी घरानाहरू भने लुटको साम्राज्य स्थापित गर्न तल्लीन देखिएका छन् । लुटको शृंखलामा पछिल्लो पटक विशाल ग्रुप जोडिन आएको छ । जसका केही उत्पादनहरू उपयोगहीन रहेको पुष्टि भएसँगै हामीले पनि यस ग्रुपभित्र प्रवेश गरेर यसका अन्य प्रोडक्टहरूलाई समेत खोतल्ने प्रयास गरिरहेका छौं । पछिल्लो समय हिमालय टाइम्सले अभियानकै रूपमा यस्ता घरानाहरूका बदमासीहरूलाई लिएर निरन्तर खबर सम्प्रेषण गरिरहेको छ । 

एकातिर कोरोना कहर छ भने अर्कोतिर दुई ठूला पर्व दशैं र तिहार सम्मुखमा छन् । पर्वका बेलामा दुःख सुख गरेर भए पनि मीठो मसिनो खाने नेपालीको चलन छ । तर, ठगीधन्दा गरेर कमाउन पल्केकाहरूले यसैलाई मौका सम्झेर नाफाखोरी गर्न उद्यत छन् । नेपालका व्यापारिक घरानामा सबैभन्दा बढी सामान आयात गर्ने घराना हो विशाल ग्रुप । यसले सबै प्रकारका सामान आयात गर्छ र नेपाली बजारमा आफ्नो विस्तार स्थापित गरेको छ । तर, यो ग्रुपका काला कर्तुतहरू पछिल्लो समय सार्वजनिक हुने क्रममा छन् । 

विशाल ग्रुपको डण्डीसमेत गुणस्तरहीन भेटियो 

म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाएको विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्स स्टिल्सबाट उत्पादित डण्डी गुणस्तहीन रहेको फेला परेको छ । ग्रुपको मोरङमा रहेको कमला रोलिङ मिल्सबाट उत्पादित डण्डी गुणस्तरहीन भएको भन्दै गुणस्तर तथा नापतौल विभागले उत्पादन इजाजत नै रद्द गरेको छ । विभाग स्रोतका अनुसार कमला रोलिङ मिल्सबाट उत्पादिन डण्डी विगत केही वर्षदेखि गुणस्तरहीन रहेको फेला परेको हो । विभागले पछिल्लो पटक असारमा मात्रै डण्डी गुणस्तरहीन रहेको फेला पारेपछि उत्पादन इजाजत नै रद्द गरेको थियो । लकडाउनका कारण त्यो बेला मिडियामा आउन सकेको थिएन । तर, विशाल ग्रुपले म्याद सकिएका सामग्रीलाई पुनः नयाँ म्याद राखेर बजारमा ल्याएको प्रमाणित भएसँगै यी कुराहरूसमेत सतहमा आएका छन् । 

कमला रोलिङ मिल्सबाट उत्पादित डण्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६ प्रतिशत, फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०५९ प्रतिशत, सल्फर तथा फस्फोरसको मात्रा ०.१०५ प्रतिशत हुनुपर्नेमा ०.११९ प्रतिशत रहेको भेटिएको विभागले जनाएको छ । सल्फरको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

विभागका महानिर्देशक विश्ववाबु पुडासैनीका अनुसार डण्डीको गुणस्तर नेपाल गुणस्तर (प्रमाण चिहृन) अनुरूप नरहेको भन्दै नियमावली २०४० को नियम १६ अनुसार इजाजत नै रद्द गरिएको छ । विभागले इजाजत नै रद्द गरे पनि बजारमा गएर निर्माणमा प्रयोग भएका डण्डीहरूको विषयमा भने अझै कुनै टुंगो लागेको छैन । 

नेपाल धितोपत्र बोर्डले विशाल ग्रुपको कारोबारमाथि छानबिन गर्ने

नेपाल धितोपत्र बोर्डले विशाल ग्रुपको कारोबारमाथि छानबिन गर्ने भएको छ । विशाल ग्रुपले केयर रेटिङ कम्पनी खोलेर कानुनविपरीत आफ्नो समूहको लगानी भएका कम्पनीहरूको रेटिङ गराउँदै आएको विषय सार्वजनिक भएपछि बोर्डले छानबिन गर्ने तयारी गरेको हो ।

‘समाचार सार्वजनिक भएपछि हाम्रो ध्यानाकर्षण भएको छ, रेटिङ एजेन्सीले गरिरहेका कामको अब छानबिन हुन्छ,’ धितोपत्र बोर्डका एक उच्च अधिकारीले भन्नुभयो ।

विशाल ग्रुपको लगानी रहेका एनआइसी एशिया बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाममा शेयर लगानी गरिएको छ । आफैँ लगानी गर्ने अनि सुनियोजितरूपमा राम्रो रेटिङ निकाल्ने काम भइरहेको स्रोतको दाबी छ ।

अनुसन्धानमा अल्मलिँदै विभाग

सबै प्रमाण र पक्राउ परेकाहरूको बयानका आधारमा म्याद सकिएका चक्लेट, बिस्कुट, आलुका चिप्सका साथै खाद्यवस्तु बजारमा बिक्री गर्ने विशाल ग्रुपअन्र्तगतकै कम्पनी रहेको प्रमाणित भइसके पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने अझै अनुसन्धानमै रहेको बताएको छ । 

पक्राउ परेकामध्ये आठ जना धरौटीमा छाडिए पनि अहिले विभागको सुई केवल भारतीय नागरिक रोनक बोथ्रामा मात्र केन्द्रित रहेको देखिन्छ । विशाल ग्रुपले यो प्रकरणमा मुछिएको आयान डिस्टिब्युटर्ससँग आफ्नो संलग्नता नरहेको दाबीसहित आइतबार एक विज्ञप्ति जारी गरे पनि आयानले सामान भने विशाल ग्रुपकै युनाइटेड डिस्ट्रिब्युटर्ससँग खरिद गरेको देखिन्छ । स्मरण रहोस् युनाइटेड डिस्ट्रिब्युटर्सका सञ्चालक विशाल गु्रपका निर्देशक अनुज अग्रवाल हुन् । यता, रोनक बोथ्राको फेसबुक प्रोफाइलमा समेत आफू विशाल ग्रुपको कर्मचारी रहेको उल्लेख छ । तर, अहिले उनको फेसबुक एकाउन्ट बन्द गरिएको छ । 

पक्राउ परेका व्यवस्थापक पदमा कार्यरत भारतीय नागरिक रौनक बोथ्रा विशाल गुप्रको युनाइटेड डिस्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको खुल्न आएको छ । त्यसो त बोथ्रा आफैंले लिंकडेन नामक सोसियल साइटमा आफू युनाइटेड डिस्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको उल्लेख गरेका छन् । 

विभिन्न तथ्य र प्रमाणका आधारमा विशाल ग्रुपको संलग्नता दिनको घामजस्तै छर्लंग भए पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने छानबिनमा अलमल हुनु र ठोस निर्णय गर्न नसक्नु शंकास्पद रहेको देखिन्छ । 

तेस्रो मुलुकबाट आयात हुने चक्लेटमा भन्सार घटाएर अर्बौं मुनाफा कमाउँदै आएको विशाल ग्रुपको गोदाममा छापा हानेर मिति सकिएका खाद्य सामग्री बरामद भएसँगै यस ग्रुपअन्तर्गतका कम्पनीहरूको बदनियत पर्दाफास हुँदै गएको हो । यो ग्रुपले आयात गर्ने चक्लेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्यवस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको हो । ठूलो परिमाणमा खान अयोग्य यस्ता वस्तु भेटिएपछि बजारमा गएका स्नेकर्स चकलेट, प्रिगंल्स चिप्स र ट्याङ जुसको गुणस्तरमा पनि प्रश्न उठेको छ । उपभोक्तको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिएको छ । त्यहाँ रिलेबलिङ भएका सामानहरू बजारका साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरहरूमा समेत पाइने गर्छन् ।

आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटर्स लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामग्री विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । म्याद गुज्रेर नष्ट गर्नुपर्ने वस्तु आयानले रि–लेबलिङ गरेको र आयानले उक्त वस्तु युनाइटेडमार्फत किनेको देखिएको छ । विशाल समूहका कम्पनी हुन् युनाइटेड डिस्ट्रिब्युटर्स र लाइफ केयर इन्टरनेसल । विशाल गु्रपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल केही समयअघि जुवा केसमा समेत पक्राउ परेका थिए । 

राज्यमन्त्रीको उद्योगसमेत गैरकानुनी काममा 

लुटको धन्दामा विशाल ग्रुपसँगै अर्को व्यापारिक घरना सेञ्चुरी मसला उत्पादक ‘दुगड स्पाइस एण्ड फुड प्रोडक्स प्रालि’ पनि देखिएको छ । यो कम्पनी अरू कसैको नभई बहालवाला उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको हो । उक्त प्रालिले कानुनी मापदण्ड पूरा नगरी सेञ्चुरी स्प्रिंकल टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको हो । 

प्रालिले दुई रूपैयाँको नुन आकर्षक प्याकेजिङ गरी ३२ रुपैयाँमा बिक्री गरेको पाइएको छ । उद्योगले साल्ट टेडिङ कर्पोरेसनबाट प्रतिप्याकेट २० रुपैयाँका दरले नुन खरिद गरी एक सय ग्राम नुनलाई ३२ रुपैयाँमा बिक्री गर्ने गरेको दाबी उपभोक्ताकर्मीको छ । 

उद्योगले नुनमा कालोबजारी गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीका लागि सरकारसँग मागसमेत गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उक्त उद्योगले अवैध तथा गैरकानुनी तरिकाले नुन उत्पादन तथा बिक्री वितरण गरेको भन्दै कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिनुभएको छ । मोरङको टंकी सिनवारीस्थित नेपालको एक प्रतिष्ठित खाद्य उद्योग दुगड स्पाइस एण्ड फुड प्रोडक्ट प्रालिले नेपालीहरूको भान्सामा आवश्यक पर्ने विभिन्न किसिमका मसलालगायत खाद्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएकोमा केही समयअघिदेखि सो कम्पनीले सेञ्चुरी स्प्रिंकलर्स टेवल साल्ट (नुन)को नामबाट नुनको प्याकेजिङ गरी प्रतिसय ग्रामको ३२ रुपैयाँमा बिक्री गर्दै आएको उजुरीमा उल्लेख छ । 

मञ्चले सो सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भदौ १२ गते उजुरी दिएको जनाएको छ । तर, उक्त नुन उत्पादनका लागि उद्योगले विभागको अनुज्ञापत्रसमेत नलिएको तथ्य पत्ता लागेको छ । दैनिक उपभोग्य वस्तुमा पर्ने नुनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्यलगायत सम्बन्धमा सरकारले तोकेको मापदण्डमा रही उत्पादन, सञ्चय, बिक्री वितरण गर्ने काम सरकारले २०२० सालदेखि नै साल्ट टे«डिङ कर्पोरेसनमार्फत गर्दै आएको छ । तर, दुगडले अनधिकृत रूपमा नुनको प्याकेजिङ, सञ्चय तथा बिक्री वितरण गर्नु गैरकानुनी भएको मञ्चको जिकिर छ । 

नेपाल सरकारको २०७३ चैत २१ गते प्रकाशित नेपाल राजपत्रको खण्ड ‘ख’ ६६ मा प्रकाशित सूचनाअनुसार नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ कोे उपदफा १ र प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६२ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी २०७४ साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि साल्ट टे«डिङबाट नेपालभर आयोडिनयुक्त नुनको आयात, भण्डारण तथा बिक्री वितरण गराउने व्यवस्थालाई निरन्तरता दिएको छ । उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट उत्पादन तथा बिक्री वितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन २०७५ मा भएका व्यवस्थासमेत उल्लंघन गरेको मञ्चको भनाइ छ । बजारमा गुणस्तरीय आोडिनयुक्त आयोनुन प्रतिकेजी २० रुपैयाँमा पाइरहेको अवस्थामा प्याकेजिङ मात्र गरी प्रति एक सय ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ र ३ विपरीत क्रियाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गरेको मञ्चले उल्लेख गरेको छ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यसको खण्डन गरेको छ । 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सेञ्चुरीको टेवल साल्ट प्रकरणबारेमा विभागले पनि अनुगमन गरेको जानकारी गराउँदै अनुज्ञापत्र नलिई उत्पादन गरेको पाइएपछि अहिले उत्पादन बन्द गरेको हिमालय टाइम्सलाई बताउनुभयो । महर्जनका अनुसार अनुगमनका क्रममा उक्त उद्योगले टेवल नुनको परीक्षण उत्पादन गरिएको दाबी गरेको थियो । त्यस्तो दाबी गरे पनि उत्पादन बजारमै पठाएको पाइएपछि विभागले सबै उत्पादन फिर्ता लैजान निर्देशन दिएको पनि उहाँले बताउनुभएको छ ।