होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा पहिरो पीडितलाई राहत सहयोग।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= पहिरो पीडित एक होटल व्यवसायीलाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले राहत वितरण गरेको छ । जिल्लाको शिवराज नगरपालिका–१, धानखोला स्थित लम्जुङ कालिका लिजा अशोक होटललाई संघले शुक्रबार राहत प्रदान गरेको हो।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल खत्री नेतृत्वको टोली घटनास्थल पुगी राहत स्वरुप करिब १० हजार रकम बराबरको खाद्यान्न प्रदान गरेको संघले जनाएको छ।

अबिरल झरीसँगै पहाडबाट पहिरो खसेर घर पुरिएको पीडित अशोक राउतले जानकारी दिए । घरभित्र बस्न सक्ने अवस्था नभएको होटल संचालक राउतले जनाए । पहिरोले घरभित्रको धनमाल नोक्सान भए पनि मानवीय क्षति भने नभएको तर अहिले पनि घरभित्र माटोको लेदो भरिएको बताइएको छ ।

राहत वितरणमा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिव शिवराज सापकोटा, सचिवालय सदस्य बबिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।