कुलमानको विषयमा मदनकृष्णको आवाज

काठमाडौं । देशमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्छ भन्दै विभिन्न ठाउँबाट माग भइरहँदा नेपाली कलाक्षेत्रका कलाकारहरूले पनि यो विषयमा आवाज उठाउनु भएको छ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई तीन करोड जनताले कुलमानलाई रुचाएको भन्दै प्राधिकरणको कार्यकारी प्रमुखमा पुनः नियुक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । 

एउटा जिल्लाको मत प्राप्त गरेको व्यक्ति कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुने भन्दै कलाकार श्रेष्ठले सिंगो देशले मन पराएका व्यक्तिलाई नजरअन्दाज गर्न नसकिने बताउनु भएको छ । 

‘मेचीदेखि महाकाली हिमालदेखि तराई ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ,’ मदनकृष्ण सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । ‘आमजनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन् ।’ यस्तै अन्य कलाकारहरूले पनि कुलमानको पुनः नियुक्त गर्न माग गर्नुभएको छ । दीपकराज गिरीलगायत केही कलाकारहरूले मंगलबार राति ८ बजे ५ मिनेट बत्ती निभाएर कुलमानको नियुक्तिका लागि दबाब दिनुभएको थियो । प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा कलाकारहरूले आवाज उठाउँदै आएका छन् ।