नवलपरासीको शिक्षक – अभिभावक कुटपिट प्रकरण

नवलपरासीको शिक्षक अभिभावक कुटपिट प्रकरण : शिक्षकको कुटाइबाट घाइते भएको अभिभावकको दाबी, प्रत्यक्षदर्शी भन्छन् –चिप्लेर लडनु भएको हो ।

नवलपरासी । घटना हो साउन २८ गतेको । विषय हो पूर्व नवलपरासीमा रहेको विद्यालयले ५ वर्ष पहिलेको दुई जना विद्यार्थी अध्ययनरत रहँदाको शुल्क  एकाउन्न हजार पचहत्तर रुपैयाँ माग्दै गर्दा । घटना घट्यो अभिभावकको खुट्टो भाँचियो । अनि अभिभावक भन्छन् –म शिक्षकको कुटाइले घाइते भए, प्रत्यक्षदर्शी भन्छन् –चिप्लेर लड्नु भएको हो, शिक्षकले कुटपिट गर्नु भएको होईनन् । यसरी एउटै घटनामा अभिभावक र  प्रत्यक्षदर्शीको फरक फरक अभिव्यक्ति । 

लेखापाल बाबुराम सुवेदी 

वास्तविक घटना के हो ?

पूर्वी नवलपरासीमा रहेको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा रहेको उज्ज्वल शिशु ईङ्गलिस बोर्डिङ स्कुलको । अभिभावक कृष्णप्रसाद  आचार्यले ०६७ सालमा जेठो छोरा रामप्रसाद आचार्य र ०७० सालमा माइलो छोरा लक्ष्मण प्रसाद आचार्यलाई विद्यालयमा भर्ना गराउनु भएको थियो । विद्यालयबाट दुबै छोराहरुले ३÷३ बर्ष अध्ययन गरी माध्यमिक शिक्षा उत्र्तिण गरे । उनीहरुको विद्यायलमा तिर्न बाँकी शुल्क विद्यालयले ताकेता गर्दापनि शुल्क नबुझाएको विद्यालयका लेखापाल बाबुराम सुवेदीले बताउनु भयो । आचार्यले दुबै छोराहरुको ५१ हजार ७५ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको लेखापाल सुवेदीको दाबी छ । तर अभिभावक आचार्यले भने ३० देखि ३५ हजारमात्र रहेको बताउनु हुन्छ । 

प्रकाश कुँवर – प्रिन्सिपल  कुँवरका भाइ

आचार्यका अनुसार शुल्क तिर्न बाँकी रहेको विषयलाई लिएर विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफुमाथी हातपात गरेको बताउनु हुन्छ । उहाँले कुटपिट गर्दा आफु बेहोस भएको र कुटपिटबाट आफ्नो खुट्टा भाँचिएको उहाँले बताउनु भयो । कुटपिटबाट घाईते भएपछि विद्यालय पक्षले नै एम्बुलेन्सको ब्यबस्था गरी सहीद स्मृति सामुदायिक अस्पतालमा पठाएकोमा त्यहाँ एक्सरे गर्ने क्रममा खुट्टा भाँचिएको र अस्पतालमा उपचार गर्न नसक्ने भनी रिफर गरेपछि बुटवल पुगेको आचार्यले बताउनु भयो । कुटपिटबाट घाईते भएका भनिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका वडा नम्बर ३ पत्थरकल्लाका ५२ बर्षिया कृष्णप्रसाद आचार्य(शर्मा) बुटवल स्थित लुम्विनी सिटी अस्पतालमा उपचार गराईरहनु भएको छ । त्यो घटना झण्डै २४ दिन पछि मात्र घटना बाहिर सार्वजनिक भएको थियो । घाईते भएका आचार्यको दाँया खुट्टा भाँचिएपछि उहाँको खुट्टाको अपरेशन समेत भैसकेको छ । अपरेशनको घाउ निको भइ नसकेको र टाँका खोल्न बाँकी रहेका कारण उहाँ लुम्विनी सिटी अस्पतालको सर्जिकल वार्ड वेड नम्बर २०८ मा उपचारकै क्रममा रहनु भएको छ ।

उहाँले पिडक पक्ष एक दुईपटक अस्पताल आएर भेटेको र त्यसपछि कुनै सोधपुछ नगरेको भन्दै गुनासो पोख्नुभयो । हाल सम्म उपचारका क्रममा झण्डै ३ लाख हाराहारीमा खर्च भएको र अझै पनि खर्च हुने भएकोले पनि उपचारका लागि रकम अभाव भएको आचार्यका छोरा लक्ष्मणले बताउनु भयो । उपचार खर्च बेहोर्नुपर्ने, सार्वजनिक रुपमा माफि माग्नुपर्ने र बुवाले तत्काल केही गर्न नसक्ने र आफुहरुको आम्दानीको श्रोत केही नभएकोले सहयोग गर्न अपीलसमेत गर्नुभयो ।

के भन्छन् आचार्यको उपचारमा संलग्न डाक्टर 

कृष्णप्रसाद आचार्य साउन २८ गते अस्पताल भर्ना हुनुभएको उपचारमा संलग्न डा. अन्जनी बर्नवाल बताउनु भयो  । उत्तिबेलै चेकजाँच गर्ने क्रममा विरामीमा सुगर बढेर ३ सय भन्दा बढी भएका कारण सुगर डाउन गरेर ३० गते मात्र अपरेशन गरेको बर्नवाल बताउनु हुन्छ । ३० गते अपरेशन भएपछि अपरेशन गरेको ८ दिन पछि अस्पतालबाट घर जान सक्ने बताए पनि विरामीले टाँका खोलेर मात्र घर जाने बताएको उहाँको भनाइ छ । अपरेसन गरेको घाउबाट पछि पानी बग्ने समस्या भएपछि सुरुमा औषधिबाट सुकाउने प्रयास गरिए पनि औषधिले राम्रोसंग काम नगरेपछि पुन अपरेशन गरेर सफा गरेपछि घाउ सुक्दै गएको डाक्टरको भनाइ छ । पहिलो पटक अपरेशन गर्दा लगाएको टाँका खोलीसकिएको र पछिल्लोपटक लगाएका केही टाँका खोल्न बाँकी रहेकोले अबको ७ देखि ८ दिनमा टाँका खोलिने डाक्टरले बताउनु भयो । विरामीको केस कत्तिको जटिल हो ? भन्ने प्रश्नको उत्तरमा बर्नवालले विरामी आफैले सानैमा लडेर ढाडमा चोट लागेको र दाईने खुट्टा पहिले देखिनै घरी घरी दुख्ने र टन्किने समस्या भएको बताएको डाक्टरले जानकारी दिनु भयो । दाईने खुट्टा कम्मरको जोर्नीदेखि तल र घुँडा भन्दा माथिल्लो भागमा हड्डी चर्किएकोले स्टीलपाता राखेर स्क्रु लगाएर जोडिएको डाक्टर बर्नवालले बताउनु भयो । अहिलेको अवस्था हेर्दा ३ महिनामा विरामी हिँड्न सक्ने अवस्थामा पुग्ने उहाँको भनाइ छ । डाक्टरका अनुसार थप समस्या नदेखिए अबको ७ देखि ८ दिनमा आचार्य डिस्चार्ज हुनुहुनेछ ।

उपचारका लागि उपलब्ध गराएको किन भयो त रकम फिर्ता ? 

शुल्क विबादका कारण सिर्जित घटनामा घाईते भएका आचार्यलाई पिडक भनिएका विद्यालय संचालक दिपक कुँवरका भाइ प्रकाश कुँवरले आचार्यका आफन्त पर्ने पत्रकार आर पि उपाध्यायलाई संगै लगेर उपचारका लागि सहज होस भनेर ५० हजार रुपैँया दिएको बताउनु भयो । कुँवरले आफुले ल्याएको रकम अस्पताल प्रशासनमा बुझाउने बताउँदा आचार्यले आफ्नो ब्यक्तिगत रुपमा अन्य खर्च भएकोले आफैलाई दिन आग्रह गरेपछि आर पि उपाध्यायकै रोहवरमा रकम बुझाएको उहाँले बताउनु भएको छ । रकम बुझाएर १५ देखि २० मिनेट पछि अस्पतालबाट घर फर्किनका लागि गाडमिा बसेको समयमा आचार्यले उपाध्यायलाई फोन गरि बोलाएर आचार्यले पैसा अहिले लिन नसक्ने र एकमुष्ठ हिसाव गर्ने भन्दै रकम फिर्ता दिएको कुँवरले बताउनु भयो । रकम फिर्ता गरेको सन्दर्भमा विरामीका माईला छोरा लक्ष्मणले आफैले लिनुपर्ने ठाउँमा उल्टै दिनुपर्ने अवस्था आयो भनेर भनेकोले रकम फिर्ता दिइएको हो । 

स्कुल गएको दिन कसरी भएको थियो घटना ? 

साउन महिनाको २८ गते बुधबार बजारमा किनमेल गर्नका लागि रानीनगर गएका थिए । पत्थरकल्ला देखि रानीगर पुगेर बजारमा किनमेलका लागि जाँदै गर्दा उज्ज्वल शिशुका संचालक दीपक कुँवरले देखेपछि छोराहरुको फिस तिर्नु पर्दैन भन्दै जबरजस्ती विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेको आचार्यले बताउँछन् । “म संग अहिले पैसा छैन पछि कुरा गरौंला भन्दा पनि सरले मलाई जवरजस्ती सवैको अगाडि होच्याउँदै लिएर जानुभयो” आचार्यको भनाइ छ । आचार्य नाताले विद्यालयका लेखापाल सुवेदीका जेठान हुनु हो । “सुवेदीकै घर भित्र बसेर केहिबेर छलफल भयो अनि बाहिर निस्किएर दीपक सरले कति तिर्न बाँकी छ लेखापालसंगै स्कुलमा हिँड भनेर जबरजस्ती गर्नुभयो मैले अहिले जान्न भने अनि सरले मलाई गर्धनमा हान्नुभएको हो त्यसपछि म लडे ” आचार्यले भने । यता आफ्नै घरमा घटना भएको र घटनाका प्रत्यक्षदर्शी बनेका लेखापाल भुसाल भने संचालक कुँवरले हातपात नगरेको बताउनु हुन्छ  । उहाँ भन्नुहुन्छ– “बर्षौ देखिको शुल्क बुझाउन बाँकी भएकोले हामीले पटक पटक शुल्क बुझाउनका लागि ताकेता गरेका थियौं ।  उहाँले कहिले के कहिले के भनेर टार्नुभयो २८ गते पनि उहाँले मैले बुझाउनु छैन होला भन्ने जस्तो कुरा गरेपछि दीपक सरले स्कुलमा हिँड भनेर भनेपछि म बाईक स्टार्ट गरेर बसेको अवस्थामा बाईकमा चढ्नका लागि हात तानेर चढाउन प्रयास गरेको तर, आचार्यले विद्यालय नजाने भनेर हात झट्कारेर तान्ने क्रममा पानी परेर चिप्लो भएको घर अगाडिको सिंढिमा नराम्ररी पछारिनुभयो” सुवेदीले भन्नु भयो । सुवेदीका अनुसार सिँढीबाट चिप्लिएर लढेका आचार्यको खुट्टा नचलेपछि तत्तकाल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पठाइएको थियो । आचार्यले विद्यालय संचालक कुँवरले आफुलाई कुटपिट गरेको दावी गर्दे आईरहेका छन् भने प्रत्यक्षदर्शी र घटनाका साक्षी रहेका लेखापाल सुवेदीले भने कुटपिट गरेको नभई सिँढीमा चिप्लिएर लढ्दा ठोक्किए खुट्टामा चोट पुगेको दावी गर्नुभयो । घाईते आचार्यले आफुलाई जवरजस्ती सुवेदीको घरमा लगेको र कुटपिट गरेको घर अगाडिकै पसलेहरु र किनमेल गर्न आउनेहरुले देखेको बताउनु भयो ।

के भन्छन् घटनाका प्रत्यक्षदर्शी ?

गंगा क्षेत्री प्रत्यक्षदर्शी

घटना विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा भएकोले घटना हुने समयमा सुवेदीकै घर अगाडि घर भएकी गंगा क्षेत्रीले बसेर मोबाईल चलाईरहनु भएको थियो । घर भित्र के–के भयो थाहा भएन पछि चर्काे चर्काे आवाज आएपछि मैले हेरे, लेखापाल बाबुराम सुवेदीले बाईक स्टार्ट गरिरहनुभएको र दिपक सरले कृष्णप्रसाद आचार्यको हात समातेर हिसाव हेर्न जाउँ भन्दै गर्दा आचार्यले नमानेको गंगाको भनाई छ । “अंकलले मानिराख्नु भएको थिएन दिपक सरले आज हिसाव गर्न भनेर हात तान्नुभयो अगाडि हिलो हिलो लेउ लेउ पनि थियो दिपकसरले हात तान्दा एकापट्टिको खुट्टा लर्केर लड्नु भयो । सवैजनाले उठाएर खाटमा राख्नुभयो जुन पोजिसनमा लड्नु भएको थियो त्यहि पोजिसनमा चल्न नमिलेपछि दिपक सरले टुकटुक वोलाउनुभयो त्यसमा जान नमिलेपछि एम्बुलेन्स बोलाउनुभएको हो ।” गंगाले भन्नुभयो । 

भक्तबहादुर कार्की प्रत्यक्षदर्शी

अर्को प्रत्यक्षदर्शी हुनुहुन्छ, भक्त बहादुर कार्की घटना घटिरहेकै समयमा उनी घटना भएको घर भन्दा बाटो पारी रहेको पसलमा किनेलका लागि आउनु भएको थियो । उहाँले कुटपिट भएको आफुले नदेखेको तर एक आपसमा भनाभन भएको सुनेको बताउनु भयो । उहाँले भन्नुभयो, पानी परिरहेको थियो चिप्लो थियो लेउ लागेको थियो सायद दिपक सरले हिसाव हेर्न जाउँ अथवा केहि भन्दै हुनुहुन्थ्यो उहाँले जाउँ भन्दा जान्न भन्दै पछाडि सर्नुभएको थियो चिप्लेर लड्नुभयो । हामी चिप्लेर लेडेको भनेर उठाउन पनि गएनम ।” पिडितले आफुमाथी कुटपिट भएको बताउदै आएका छन् भने प्रत्यक्षदर्शी भनिएका र घटना हुँदा संगै भएकाहरुले भने कुटपिट नभएको बताउदै आएका छन् । घटनाकै विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भैसकेकोले अनुसन्धान प्रकृया चलिरहेकोले यसको बास्तविकता केहो भन्ने पछि मात्र खुल्ने प्रहरीको भनाई छ ।

विद्यालय संचालक कुँवर विरुद्ध अंङ्गभंङ्ग सम्बन्धी मुद्धा दायर

घटना पछि पीडित पक्षले विनयी त्रिवेणी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय दुम्कीबासमा जाहेरी दर्ता गराएका थिए । पीडित पक्ष र पीडक पक्ष विच प्रहरी कार्यालयमा छलफल हुँदा पीडित पक्षले उपचार खर्च बेहोर्नुपर्ने संगै केहि माग राखेपछि सहमती हुन नसकेको संचालक दीपक कुँवरका भाइ प्रकाश कुँवरको भनाइ छ । पिडक पक्षले पहुँचका आधारमा प्रहरीमा उजुरी दिन समेत रोक लगाएको र यता  उपचारको क्रममा ठुलो रकम खर्च हुँदै गएपछि भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा निकै दुखले अङ्ग भङ्ग सम्बन्धी मुद्धा दर्ता गराएको बताउनु भयो । विद्यालयका संचालक कुँवर विरुद्ध मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले पुष्टि गर्नु भयो । अहिले पीडकको खोजी कार्यसंगै थप अनुसन्धान अगाडि बढाईएको खाँडको भनाइ छ ।