कोरोना संक्रमित , जसले रेडियो स्टेसनलाईनै आइसोलेसन बनाए।

[ तिवारी यादव ]

पर्सा (वीरगन्ज):= वीरगन्जको एउटा रेडियोमा कार्यरत पाँचजना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि अफिसलाई नै आइसोलेसन बनाएर कामलाई निरन्तरता दिएका छन् । 

सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत सञ्चारकर्मीलाई भदौ ६ गते संक्रमण पुष्टि भएपछि  एफएम स्टेसनलाई नै आइसोलेसन बनाएर रेडियोको प्रसारणलाई निरन्तरता दिँदै आएको रेडियोका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।  

नेपालमा पहिलोपटक कोरोना महामारीको चपेटामा परेका रेडियोकर्मीले रेडियो स्टेसनमै रहेर नागरिकलाई सूचना दिने गरेको उनले बताए । अध्यक्ष देवकोटाले भने, ‘सामुदायिक रेडियोको मूल मर्म नै यही हो, आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सूचना दिन बन्द गरिएको छैन।’ 

देवकोटाले भने,  ‘पाँचजना संक्रमित सहकर्मी कोभिड अस्पतालमा जाँदा रेडियो नै बन्द हुने स्थितिमा पुगेकाे  थियाे, तर संक्रमित सहकर्मीहरूले आफूहरू रेडियो स्टेसनमै आइसोलेसन बनाएर बस्ने भनेपछि रेडियो नियमित रूपमा प्रसारण भएको छ।’

नारायणी एफएमका अहिलेसम्म सञ्चारकर्मी र कर्मचारी गरी सातजना रेडियोकर्मी कोरोना संक्रमित भएका छन् ।