आज दिनभरको मौसम कस्तो रहनेछ ?

काठमाडौँ ।  आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुने क्रम बढ्ने उहाँले बताउनुभयो ।

विशेष गरी प्रदेश १, २ र बाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ । यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै नेपालमा देखिन थालेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि ठूलो वर्षा हुनेछ ।