‘नेपाल आइडल ३’ साउन दोस्रो साताबाट

काठमाडौं । नेपालको गायन रियालिटी सो ‘नेपाल आइडल–३’ साउन पहिलो साताबाट पुनः सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणको त्राससँगै सो चैत पहिलो साताबाट स्थगित भएको थियो । 

नेपाल आइडलका निर्देशक सुरेश पौडेलका अनुसार सोलाई केही फरक तरिकाले लैजाने तयारी भइरहेको छ । अहिलेको त्रासका कारण सो लाई कसरी लैजाने भन्ने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिनुभएको छ । ‘नेपाल आइडल–३’ रोकिनु अगाडिको अन्तिम साता उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गर्नुभएको थियो ।

वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आआफ्नो प्रस्तुति दिनुभएको थियो । केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुनमगर र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसक्नुभएको छ । वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँचजनाबीच प्रतिस्पर्धा हुनेछ । 

न्हृयू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेको नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फर्स्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट तीनजनाले वल्र्ड टुरको अवसर पाउनेछन् । नेपाल आइडल नेपालको चर्चित अनि लोकप्रिय गायन रियालिटी सो हो ।