भाडादर अत्याधिक महँगो भएकोले मलेसिया,माल्दिभ्स,साउदीको उडान रद्द!

क्वालालम्पुर ( मलेसिया ):= नेपाल सरकारले चार्टर्ड हवाई उडानद्वारा वैदेशिक रोजगारीको क्रममा जारी बन्दाबन्दी ( लकडाउन ) को कारण अलपत्र परेका नेपालीलाई फर्काउन भाडादर ५ सय अमेरिकी डलर भन्दा माथी तोकेको थियो ।

हवाई भाडा अत्यधिक महँगो भएपछि विभिन्न मुलुकहरूले चार्टर्ड उडान रद्द गरेका छन् । माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी माल्दिभ्सबाट असार १ गते नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट स्थगित गरेको जनाएको छ । 
त्यस्तै, साउदीबाट गर्ने भनिएको उडानसमेत रद्द गरिएको साउदीमा अवस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नयाँ भाडादर र तालिका प्राप्त नहुन्जेल उडान स्थगित गरिएको जनाएको छ । दूतावासले श्रमिकहरूलाई तत्काल पिसिआर र आरडिटी परीक्षण नगर्नसमेत अनुरोध गरेको छ । 

त्यस्तै असार १ गते ( जुन / १५ तारिख ) मा हुने भनिएको मलेसिया उडानसमेत रद्द हुने भएको छ। १ गतेका लागि चार्टर्ड गर्ने भनिएको उडानको लागि शनिबारसम्म टिकट बुकिङ सुरु नभएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभयो । ‘आजसम्म टिकट खुला भएको छैन,’ उनले भने, ‘१ गते उडान नहोलाजस्तो छ , किनभने टिकटको भाडादर लगातार घटबढ भैइरहेको छ।’

हवाई भाडा महँगो भएकाले अधिकांश श्रमिक नेपाल सरकारले तोकेको एयरलाइन्स नेपाल एयरलाइन्स,हिमालयन एयरलाइन्सबाट स्वदेश फर्किन नसक्ने मलेसिया स्थित सामाजिक संघसंस्थाहरुको भनाइरहेको छ।
अत्याधिक महङ्गो भाडादरको विरुद्धमा केहिदिन अगाडि सरकारले गरेको निर्णयलाई सच्याउन मागगर्दै , टिकटको भाडादर घटाउन मागगर्दै संघसंस्थाका अगुवाहरुले दूतावासमै पुगेर राजदुत पाण्डेलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो।

उता ओमान र कुवेतले आफ्नै एयरलाइन्सबाट श्रमिक नेपाल फर्काउने जनाएकाछ्न।
कुवेतबाट आइतबार करिब ३ सयलाई फर्काइँदै छ । कुवेत सरकारले आफ्नै खर्चमा आममाफी पाएका नेपाली कामदारलाई फर्काउने क्रममा आइतबार दुई उडानबाट नेपाली फर्काउने भएको हो। आइतबार कुवेतको समयअनुसार पहिलो उडान बिहान ४ बजे र दोस्रो ६ बजे हुनेछ ।  

आगामी सोमबार ओमानबाट १ सय ८० जना श्रमिक फर्काइँदै छ । ओमानको सलाम एयरमार्फत जोखिममा रहेकामध्येलाई पहिलो उडानमार्फत नेपाल फर्काउन लागिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले बताएकी छिन्। उनका अनुसार ओमानबाट फर्किने नेपालीले टिकट खर्च आफैँले व्यहोर्नेछन् । नेपाल एयरलाइन्सले तोकेको भाडादरभन्दा सलाम एयरको भाडा धेरै कम भएको राजदूत पराजुलीले बताइन् । ओमानबाट ६ सय १५ जना नेपालीले नेपाल फर्किनका लागि अनुमति पाएका छन् ।