नेपाली कामदारको उद्धारमा आइएमओले सघाउने

काठमाडौं । कोरोना भाइरसबाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघ(एनआरएनए) ले संयुक्त राष्ट्र संघअन्तर्गतको इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेन(आइएमओ)सँग छलफल गरेको छ । एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीका अनुसार आइएमओसँग एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको हो । भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्रसंघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिनुभएको थियो । लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिंग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताउनुभएको एनआरएनएले जनाएको छ ।

आइएमओले विश्वभरिका माग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै लान्डाले नेपाल सरकार र एनआरएनएसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । करिब दुई घन्टा लामो छलफलमा एनआरएनएका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा चर्चा गदै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गर्नुभएको थियो ।

करिब ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताउनुभएको थियो । उहाँले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलनलगायत अन्य धेरै विषयमा संयुक्तरुपमा काम गर्न सकिने बताउनुभएको थियो । बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराउनुभएको थियो । एनआरएनएका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समाधान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताउनुभएको छ ।

नेपालले सन् २००६ मा आइएमओको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीको हक र हितको लागि सक्रिय छ । आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।