‘विदेशबाट आउन चाहने सबैलाई ल्याऊ’

काठमाडौं । नेपाली कांग्रेसले विदेशबाट स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउन सुझाव दिएको छ । कांग्रेसले नेपालीलाई फिर्ता ल्याउने बिषयमा कार्ययोजना नै बनाउन सरकारसँग आग्रह गरेको हो । कांग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारलाई आग्रह गरेको हो । यसरी ल्याउँदा संख्या नतोक्न पनि कांग्रेसले सुझाव दिएको छ । 

सरकारले हालै विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो । कांग्रेसले विदेशबाट ल्याइएका नेपाली नागरिक सबैको कोरोना भाइरस पिसीआर विधिबाट परीक्षण गरी विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टाइन वा अन्य प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । कांग्रेसले कोरोना भाइरसको महामारी शुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनुपर्छ भन्ने धारणा राख्दै आएको जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्तिमार्फत स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय आएको बताउनुभएको छ । कांग्रेसले कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्योलताले हुनसक्ने आर्थिक मन्दीसमेतलाई ध्यानमा राखी विदेशमा रहेका नेपाली भोलिका दिनमा ठूलो संख्यामा घर फर्कनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेशबाट फिर्ता भएका नेपालीलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा छ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैँले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरू कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउने प्रबन्ध गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।