बिदेशमा अलपत्र परेको नेपालीको उद्दार गर्न उच्चस्तरीय समितीको बैठक बस्दै।

काठमाडौं := अन्ततः कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपाली श्रमिकलाई फिर्ता ल्याउन नेपाल सरकारले गृहकार्य थालेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्रीले संसदमा नीति तथा कार्यक्रममाथिका प्रश्नहरुको जवाफ दिनुअघि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रियाबारे छलफल गर्ने स्रोतले बताए।

लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ । ल्याएर राख्ने क्वारेन्टाइन तथा ल्याउने प्रक्रियाबारे धेरै चरणमा परामर्श भएर अब निर्णय प्रक्रियामा पुगेको स्रोतले जनाएको छ ।परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेको छ । रोजगारी गुमाएर तत्कालै फर्किनुपर्ने अवस्थाकालाई विमान चार्टर गरेर ल्याउनुपर्ने देखिएको छ । भारतबाट फर्किरहेका नेपालीहरुको व्यवस्थापन झनै चुनौतिपूर्ण बनिरहेकाले अब सीमा क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापनमा समेत नेपाली सेनालाई खटाउनेबारे छलफल भइरहेको एक मन्त्रीले बताए ।

भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुलाई तोकिएका क्वारेन्टाइनमा राख्ने,सुरक्षित घर सम्म लैजाने लगायतका योजना कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी)ले तयार पारिसकेको जनाइएको छ ।