एक बर्षसम्म कामदारले तलव नपाएको गुनासो

बझाङ । जिल्लाको दुर्गम साईपाल गाँउपालिका वडा नम्बर ३ मा निर्माण भएको थरौनि घाँटखोला लद्यु जलविद्युत आयोजाना सम्पन्न भएको एक बर्ष पुग्न लाग्दा समेत यहाँका कामदारहरुले काम गरेको रकम नपाएको गुनासो गरेका छन् । उनीहरुले दुई करोड १० लाख लागतमा सम्पन्न भएको ११ किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजनमा उपभोक्त समितिले रकम हिनामिना गरेको आरोप लगाए । एक जना ब्यक्तिले झण्डै ७० देखि ८० दिन सम्म काम गरेको भए पनि यहाँका झण्डै एक सय जना भन्दा बढी मजदुरहरुले रकम नपाएको गुनासो गरे ।  प्रति दिन पाँच सयका दरले ७० दिन काम गरेको बताउदै कृष्ण बोहराले अहिले सम्म एक पैसा पनि नपाएको बताए । यस्तै धनलाल बोहराले ५५ दिन काम गरेकोझण्डै २७ हजार पाँच सय लिन बाँकी रहेको बताउँदै उनले आफुले पनि पैसा नपाएको गुनासो गरे । उनी जस्तै धन विरे बोहराको झण्डै ३८ हजार रुपैया लिन बाँकी छ । गाँउपालिका वडापालिका सम्म आफुहरुले रकम नपाएको गुनासो गरेको भए पनि सरोकारवाला निकायले चासो नदिएको आरोप यहाँका स्थानीयवासीको रहेको छ । 

२ करोड भन्दा बढी रकम कहाँ कसरी खर्च गर्यो आफुहरुलाई अहिले सम्म कुनै पनि जानकारी नगराएको उनिहरुले बताए । एक सय भन्दा बढी कामदारहरुले झण्डै ३० देखी ४० लाख रुपैया रकम पाएका छैनन् । दिन रात भनेर काम गरेका उनिहरुलाई समितिका पदाधिकारीहरुले पैसा पछि दिने, पैसा नभएको भन्दै अलमलाउने गरेका स्थानीयले बताए ।  के कति रकम कहाँ खर्च भयो सो कुरा समेत देखाउन नसकेको उनीहरुले बताए । यहाँका काया, काँडा, बाँझ चौका लगायका झण्डै १२० घर परिवारमा विद्युत पुगेको छ । प्रत्येक घर परिवार बाट दुई हजारका दरले चन्दा संकलन गरीएको झण्डै २ लाख तिस हजार, तत्कालीन जिल्ला विकास समिती बाट रु ५ लाख,काँडा गाविस बाट १२ लाख,पश्चिम उच्च पहाडी गरिवि निवारण कोष बाट ५ लाख, प्रदेश सरकार बाट ४५ लाख र साईपाल गाँउपालिकाको एक करोड ४३ लाखको लागतमा विद्युत निर्माण भएको हो । 

उपभोक्ता समितिको नाममा उल्टै झण्डै २८ लाख बेरुजु रहेको छ । तर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बोहराले भने रकम अभाव भएकै कारण कामदारको पैसा दिन नसकेको बताए । बेरुजु आएको बारे आफुलाई सामान्य जानकारी भए पनि के कति कारणले बेरुजु आएको हो भन्ने बारे आफु अन्यौलमा रहेको उनको भनाइ छ । 

 यता साईपाल गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जंगविर बोहराले भने समितीका पदाधिकारीहरुको नै ठुलो कमजोरी रहेको बताए । अहिलेसम्म आफुले समितीका पदाधिकारीहरुसंग पटक पटक यस विषयमा बस्न खोजे पनि उनीहरुले बस्न नमानेको उनको भनाइ छ । 

यस बारेमा समितीका सचिब सुरेन्द्र बोहराले रकम अभाव भएकै कारण मजदुरको पैशा दिन नसकेको बताए । रकम हिनामिना भए वा गरेको फेला परे जोकोही पनि सजायको भोगेदार बन्न तयार रहने भन्दै उनले यस विषयमा गाँउपालिकाले चाँसो दिन आवष्क रहेको बताए । अबको केही दिन भित्रै बैठेक बसी यसको निचोड निकाल्ने उनको भनाइ थियो ।