रौतहट । पहाडी एवम् हिमाली जिल्लाहरुमा सोमबारनै होली पर्व सकिएपनि रौतटहलगायत तराई–मधेसका केही जिल्लामा आज (बुधबार) पनि होली पर्व धुमधामसँग मनाइएको छ ।
यहाँका जिल्लाहरुमा हिजो(मंगलबार) पनि होली मनाइएको थियो । तराई मधेसका जिल्लाहरुमा फागु पूर्णिमाको भोलीपल्ट होली मनाउने चलन रहिआएको छ । पूर्णिमाको राती होलिका दहन गर्ने भएकाले होलिका दहनपछि पछि मात्र होली मनाउने प्रचलन भएकाले यहाँका स्थानियले पूर्णिमाको भोलीपल्ट मनाउने प्रचलन रहेको स्थानिय नविन चौरसिया बताउछन् । उनका अनुसार होलिकाको दहन नगरेसम्म पुजाआजा एवम् काटमार गर्न नहुने परम्परागत मान्यता रहेको कारण यस क्षेत्रमा पहाड र हिमाली क्षेत्रमा मनाउने दिनभन्दा भोलीपल्ट मनाउने गरिन्छ । तर यसपटक तराई–मधेसमा स्थानिय मंगलबार र बुधबार दुईदिन होली मनाए । यहाँको मुख्य होली मंगलबार होलीभए पनि मंगलबारको दिन काटमार गर्न नहुने र माछामासु खान नहुने मान्यता रहेकाले आज(बुधबार) पनि होली मनाइएको हो । यसै कारण प्रदेश नम्बर २ को सरकारले पनि होलीको अवसरमा २७ र २८ गते दुईदिन सार्वजनिक विदा दिएको छ ।

तराई–मधेसको मुख्य पर्व रहेको होली यसपटक भने गत वर्षजस्तो उल्लासमय देखिएन । विशेषगरी कोरोना भाइरसको त्रासको कारण यसपटक सामुहिक रुपमा गत वर्षहरु जस्तो होली खेलिएको छैन् । कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै सरकार र स्थानिय प्रशासनले पनि सकेसम्म परिवारभित्र मात्र होली मनाउन आग्रह गरेका कारण अधिकांसले घरपरिवारमै सिमित रहेर होली पर्व मनाएका छन् । गत वर्षहरुमा लाग्ने होली उत्सव र होली मेलाहरु पनि यसवर्ष जिल्लामा लागेका छैनन् । कोरोना भाइरसको त्रासको कारण यस पटकको होली खल्लो भएको स्थानियको अनुभव छ । कोरोना त्रासको कारण होलीका सामग्रीहरुपनि गत वर्षको तुलना निकैनै कम बिक्री भएको व्यापारीहरु बताउँछन् । यसवर्ष आफुले सामुहिक रुपमा कम र घरपरिवारमै बसेर धेरै होली खेलेको स्थानिय युवा राजन पटेल बताउँछन् । उनले गत वर्षजस्तो पुरै गाउँ घुमेर रमाइलो गर्दै होली नमनाएको बरु आफुले पनि केहि मिल्ने साथीहरु र परिवारका सदस्यहरुसँग मात्र होली खेलेको सुनाए । यस क्षेत्रमा पहाडी समुदायको पनि बाक्लो जनसंख्या भएकाले सोमबार पनि होली खेलिएको थियो । सामाजिक सद्भावको पर्वको रुपमा रहेको होली वर्ष सबै समुदायका मानिसहरु मिलेर भाइचाराको सन्देश दिदैँ मनाउने गरेका छन् ।

त्रेता युगमा राक्षस हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।



फोटो – होली पर्व मनाउँदै रौतहटवासी ।
तस्विरःश्याम कार्की




















