म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका – २ बगरफाँटलाई जोगाउनका लागि वस्ती संरक्षण आयोजना शुरु भएको छ ।
रुपाताल संरक्षण एकिकृत विकास परियोजना काँस्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटवन्ध गर्न लागिएको हो । संघीय सांसद भुपेन्द्रवहादुर थापाको पहलमा रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बगरफाँटको वस्ती संरक्षणका लागि डिपीआर तयार गरी १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम शुरु भएको बगरफाँट,म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार यस वर्ष नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४ सय थान जाली भर्ने योजना रहेको छ । विगत ३ दिनदेखि दैनिक २६ जना मजदुरहरुले ग्याविन लगाउने काम गरिरहेका छन् ।
०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भएपनि त्यो प्रभावकारी भएको थिएन ।
करिव २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्खामा भने नदी कटानका कारण सधै जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।
गत वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे,खहरेखोला,हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताए ।
म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका वासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा,गेगर,वालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको कार्कीले जानकारी दिए ।
नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र,पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसंगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।




















