बिकास निर्माणको काममा ढिला भएको भन्दै भिडियो अप्लोड गर्ने युवकको बुवालाई मेयरले थुने शौचालयमा(भिडियो सहित)।

बारा=महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफुले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अप्लोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन ।

गाउँको नाला निर्माण काममा भैरहेको ढिलासुस्ति बारे फेसबुकमा भिडियो पोष्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहाका ५५ बर्षिय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिटपछि शौचालयमा थुनेका हुन । गत आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न गर्नु पर्ने नालाको काम हालसम्म पनि पुरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सन्जालमा अपलोड गरेका थिए ।

करिव २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहा जान मन लाग्छ त्यही जानु भनी’ भनी प्रतिक्रिया दिएका छन । फेसबुकबाट भिडियो सार्वजनिक भए लगत्तै अपमान गरेको भन्दै मेयर यादवले मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका १ दर्जन भन्दा बढी नगर प्रहरीले फेला पार्न नसकेपछि खेतमा काम गरिरहेका उनका बुबालाई समातेर कुटपिट तथा यातना दिएका हुन ।

‘गहुँबारीमा सिचायी गरेर बसेको थिए, हरेन्द्रले भन्नुभयो, नगरपालिका पुगेपछि गाजीगलौज र कुटपिट गर्दै सौचालयमा थुन्नुभयो ।’ मेयर यादवले आफुले लगाएको जुत्ता निकालेर टाउकोमा राख्न भनेको र नमानेपछि कुटपिट गर्दै नगरपालिकाको चर्पीमा आधा घण्टासम्म थुनेको उहाले बताउनुभयो ।‘तेरो छोराले मेरो बेइज्जत गरेको छ, अब दुबै जनालाई त्यसै छोडदिन भनेर धम्की पनि दिएका छन ।’ उहाले भन्नुभयो । मेयर यादवले भने हरेन्द्रमाथि कुटपिट र दुव्र्यवहार नगरेको तर छोरा मुकेशलाई फेला पार्न नसकेपछि बाबुलाई सोधपुछको क्रममा नगरपालिकामा बोलाएको बताउनुभयो ।

त्यसैगरी नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सामाजिक सन्जालबाट मेयर यादवको तस्वीर र भिडियो पोष्ट गर्ने बरियारपुर नपा वडा नम्बर १ बस्ने अर्का बर्ष ३० का दिपेन्द्र कुशवाहालाई पनि नगरप्रहरीले नियन्त्रणमा लिएर मंगलबार जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाएको छ । मेयरको बेइज्जति गरेको आरोपमा नगर प्रहरीव्दारा समातेर बुझाइएका कुशवाहामाथि छानविन थालिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो ।

आफनो निजी कामको सिलसिलामा केही समयअघि मेयर यादवले नगरपालिकाको जिप एक प्रयोग गरेर एक हप्तासम्म भारत भ्रमण गरेको भिडियो कुशवाहाले केही समयअघि सामाजिक सन्जालमा पोष्ट गरेका थिए । नगरको विकास नाममा भ्रष्टाचार गरेको भन्दै मेयर यादवको तस्वीरमा जनाबरको टाउको राखेर बनाएको अर्को फोटो पनि पोष्ट कुशवाहाले गरेका छन । सोही फोटोलाई निहु बनाएर प्रहरीले कुशवाहामाथि अभद्र व्यवहार मुद्दामा कारवाही थालेको बुझिएको छ ।

तर स्थानीय भने कार्यालयबाट हुदै भ्रष्टाचार र घटना सार्वजनिक गर्नेमाथि प्रतिशोध साध्न लागिपरेको बताउछन । ‘साधारणलाई तर्साएर अनियमितता र ढिलासुस्तिका घटना ढाकछोप प्रयासमा मेयर यादवको निर्देशनमा सर्वसाधारणलाई पक्राउ गर्ने र मुद्दा लगाउने कार्य हुन थालेको छ ।’ एक स्थानीयले भने ।

भिडियो साभार अन्नपूर्ण पोस्टबाट :