काठमाडौं । ८ जना भारतीय पर्यटकको मृत्यु भएको मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई ३ महिनाका लागि निलम्बन गरिएको छ ।
रिसोर्ट सञ्चालनका क्रममा पर्याप्त सुरक्षा नअपनाइएको तथा व्यवस्थापकीय कमजोरी भेटिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न नपाउने पर्यटन विभागले जनाएको छ ।
यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै मृत्यु भएपछि पर्यटन विभागले छानविन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनअनुसार पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा पर्याप्त सुरक्षा नभएको तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले ३ महिनाका लागि निलम्बन गरिएको विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए ।
निलम्बन अवधिपश्चात् होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावलीबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण र वातावरण प्रभाव मूल्यांकन सम्पन्न गराई अनुमति लिएर मात्रै सञ्चालन गर्न विभागले निर्देशन दिएको छ ।




















