टोकियो । जापानमा कार निर्माण गर्ने उद्योगमा कुनैबेला उनको हैसियत नायकको जस्तै थियो । त्यसपछि उनलाई सन्दिग्ध अपराधी मानियो । अहिले उनी अन्तर्राष्ट्रिय भगौडा भएका छन् । कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख तथा धनाढ्य कार्लोस गोनले आर्थिक हिनामिनासम्बन्धी मुद्दा खेप्ने प्रतीक्षामा कैयौँ महिना बिताए । कम्तीमा त्यही कुराले जापानी अधिकारीहरूलाई उनी भाग्दैनन् भन्नेमा विश्वस्त बनायो । गत एप्रिलमा जमानतमा रिहा हुन उनले एक अर्ब जापानी येन पनि तिरे ।
टोकियोस्थित उनको निवासवरपर जडित क्यामेरामार्फत गोनको चौबीसै घण्टा निगरानी हुन्थ्यो । प्रविधिको प्रयोग गर्न उनीमाथि निकै प्रतिबन्ध लगाइएको थियो र विदेश भ्रमणमा जान रोक लगाइएको थियो । त्यसपछिको एउटा कदमबाट जापान लज्जित हुनुप¥यो भने गोनका वकिलहरूको टोली पनि आश्चर्यमा प¥यो । नयाँ वर्षको पूर्वसन्ध्यामा उनी अकस्मात् लेबननमा देखिए । एउटा वक्तव्यमा उनले भने, ‘म अन्याय र राजनीतिक दमनबाट उम्किएको छु ।’
उनले जापानमा आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका थिए । यसअघि एक स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जापानमा निष्पक्ष सुनुवाइ नहुने डरले गोन टोकियोबाट भागेको उल्लेख गरेको थियो । गोनकी पत्नीले आफूहरूलाई ‘धम्काउन तथा होच्याउन’ खोजेको गत जुन महिना बिबिसीलाई बताएकी थिइन् । उनका वकिलहरूले जापान सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् र अभियोजनकर्ताहरूले अघि सारेको मुद्दाको राजनीतिक अभिप्राय रहेको दाबी गरेका थिए । ‘हामी एकदमै आश्चर्यचकित भएका छौँ । म त निःशब्द भएको छु,’ गोन लेबनन पुगेको खबर पाएलगत्तै टोकियोमा गोनका वकिल जुनिचिरो हिरोनाकाले पत्रकारहरूलाई भने । ‘हामी सोध्न चाहन्छौँ, ‘तपाईँ कसरी यस्तो गर्न सक्नुहुन्छ ?’ हिरोनाकाले भने ।
लेबननको टेलिभिजन च्यानल एमटिभीका अनुसार गोन टोकियोस्थित निवासबाट एउटा सांगीतिक समूहमा भेष बदलेर सम्मिलित एउटा अर्धसैनिक समूहको सहयोगमा भागेका हुन् । सो टेलिभिजनका गोनको निवासमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो र त्यो सकिनासाथ वाद्यवादनका सामान राख्ने खोलमा ६५ वर्षीय गोन लुके । ती सामानलाई एउटा स्थानीय विमानस्थल पु¥याइयो र विदेश लगियो । यदि साँच्चै त्यसो भएको थियो भने साँढे पाँच फुट अग्ला गोनलाई वाद्यवादनका सामानबीच लुक्नै निकै गाह्रो भएको हुनुपर्छ । एमटिभीका अनुसार त्यसपछि गोन टर्की पुगे र त्यहाँबाट एउटा निजी विमानमार्फत लेबनन गए ।
एमटिभीले त्यसबारे कुनै प्रमाण दिएको छैन । तर, अपेक्षा गरिएझैँ सामाजिक सञ्जालमा यो कुरा तीव्र गतिमा फैलियो । यद्यपि, गोनकी श्रीमती कारोलले उनी त्यसरी भागेको कुरा काल्पनिक भएको समाचार संस्था रोएटर्सलाई बताइन् । आफ्ना श्रीमान् जापानबाट कसरी भागे भन्नेबारे चाहिँ उनले विवरण दिइनन् । हुन त जासुसी चलचित्रमा जस्तै भेष बदल्ने कुरा गोनका लागि कुनै नौलो काम होइन । गत मार्चमा उनी पत्रकारहरूको नजरबाट जोगिन निर्माणक्षेत्रमा काम गर्ने मानिसहको भेषधारण गरेर जेलबाट निस्किएका थिए । तर, तत्कालै उनी चिनिए र सञ्चार माध्यममा उनको खिल्ली उडाइयो । गोनका वकिलले त्यो ‘परिपक्व योजना’ का लागि क्षमायाचना पनि गरे ।
सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार निसानका पूर्वप्रमुख कार्यकारी अधिकृत गोनले टोकियोबाट भागेर बेरुत पुग्ने योजना कैयौँ हप्ता वा महिनादेखि बनाएको हुन सक्छ । नाम उल्लेख नगरिएका थुप्रै स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएअनुसार भाग्ने योजना कार्यान्वयन गर्न एउटा टोली सावधानीपूर्वक काम गरेको थियो । लेबनन पुग्न गोनले प्रयोग गरेका कागजपत्रबारे कति प्रश्न अनुत्तरित छन् । उनीसँग ब्राजिल, फ्रान्स र लेबनन गरी तीन देशका पासपोर्ट छन् । तर उनको कानुनी समूहका अनुसार ती सबै पासपोर्ट जापान सरकारको नियन्त्रणमा थियो ।




















