काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको भएको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भनिन् ।
राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
बाजुरामा बिहीबार अपरान्ह्देखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोटलगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीयवासीलाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ । अहिले बाजुराको तापक्रम शून्य डिग्री तापक्रम छ । यसअघि मङ्सिर दोस्रो साता पनि बाजुराको सदरमुकामसम्मै भारी हिमपात भएको थियो । रासस




















