‘द लिडर, स्पिच स्टार’ को फाईनल बैशाखमा

काठमाडौं । कस्मिक मिडिया प्रा.लिको आयोजनामा सञ्चालित ‘द लिडर, स्पिच स्टार’ को विजेतालाई स्कुटरसहित नगद २० हजार दिईने घोषणा गरिएको छ । टिभी टुडेमार्फत प्रशारित उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाले आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । 

आयोजक संस्थाले जारी गरेको विज्ञप्तिका अनुसार कस्मिक मिडिया प्रा.लि ले विगत असारदेखि ‘द लिडर, ‘स्पिच स्टार’ ‘मभित्रको मेरो आवाज’ नामक कार्यक्रमको लागि काठमाडौं उपत्यकाव्यापी अडिसन लिएको हो । विज्ञप्ती भनिएको छ,‘टिभी टुडेमार्फत २०७६ असोजको पहिलो साताबाट प्रत्येक बुधबार राति ९ः०० बजेदेखि ९ः५५ बजेसम्म प्रशारण भैरहेको पनि जानकारी गराउँछौं । हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै समाजमा भएका विद्यमान विकृतिहरु अन्त्यको लागि सशक्त आवाज पैदा गर्नु नै हो । यसको लागि हामीले यो कार्यक्रममार्फत समाजको प्रत्येक क्षेत्रको लिडर जन्माउने प्रण गरेका छौं । सोहीअनुसार अहिले उक्त कार्यक्रमको १३औं एपिसोड सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । यहाँसम्म आईपुग्दा सबै महानुभावहरुबाट न्यानो साथ र समर्थन पनि पाएका छौं ।’

कार्यक्रम निर्माता तथा संस्थापक रमेश पोखरेलले उक्त कार्यक्रममा विशेषतः कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराईएको जानकारी दिए । 

यो कार्यक्रमबाट छानिएका आवाजहरु भोलिका दिनमा समाजलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनको लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा हामी पूर्ण विश्वस्त छौं ।’–उनले भने । 

उनले आफूहरुले राजनीतिक रुपमा नेता जन्माउने नभई समाजको लिडर जन्माउन लागेको स्पष्ट पारे । उनले भने,‘समाजको लिडरले नै भोलिका दिनमा जनताको मन र मत जितेर नै देशको लागि पनि सशक्त नेतृत्वदायी भूमिका खेल्ने कुरा म यहाँहरुसमक्ष विश्वास दिलाउन चाहन्छु । हामीले उत्पादन गरेका लिडर काठमाडौंमा बस्ने छैनन् । बरु, उनीहरु गाउँ गाउँ र टोल टोलमा आवाज उठाउने हुनेछन् । सुख, सयलमा खुशी भन्दापनि जनताको सेवा गर्दा उनीहरु खुशी हुनेछन् । देश रुपान्तरणको लागि धेरै नेताहरु यो माटोले पाईसकेको छ । तर, समाजको आवाज उठाउने नेताहरु भने अहिलेसम्म हामीले पाउन सकेका छैनौं । यही कार्यक्रममार्फत हामी समाजको आवाज सशक्त र प्रभावशाली रुपमा उठाउने लिडर जन्माउने प्रण गर्दछौं ।’

आयोजकका अनुसार उक्त कार्यक्रमको फाईनल आगामी बैशाखको पहिलो हप्तातिर सम्पन्न गर्नेगरि तयारी छ । पोखरेलले भने,‘अहिले अडिसनहुँदै हामी क्वार्टरफाईनलको चरणमा आईपुगेका छौं । यहाँसम्म आईपुग्दा ४० जना प्रतिष्पर्धीहरु क्वाटरफाईनलमा हुनुहुन्छ । उहाँहरुमध्येबाट अब २८ जना सेमिफाईनलमा प्रवेश गर्नुहुनेछ । फाईनलमा १५ जनाबीच प्रतिष्पर्धा हुनेछ । तीमध्येबाट यो समाजले एक जना लिडर पाउनेछ ।’

आयोजकका अनुसार प्रतियोगिताका प्रथम विजेताले स्कुटरसहित नगद २० हजार, दोस्रो विजेताले ल्यापटपसहित नगद १५ हजार र तेस्रो विजेताले मोवाईलसहित १० हजार नगद पाउनेछन् । फाईनल प्रतिष्पर्धीहरुले उनीहरुले चाहेको आईटी प्रशिक्षण निःशुल्क प्रदान गरिनेछ । 

त्यस्तै कार्यक्रममा कार्यक्रमका निर्देशक सुर्दशन नेपालीले प्रत्येक क्षेत्रमा भइरहेको सामाजिक विकृतिहरुलाई न्यूनीकरण गर्न उक्त कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए ।  त्यस्तै कार्यक्रममा उक्त प्रतियोगिताका निर्णायक भरत देवकोटाले युवा वर्गमा लुकेको क्षमतालाई उजागर गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । त्यस्तै कार्यक्रममा अर्का निर्णायक गीता मैनालीले लिडरसिप बेसबाट निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएकी छिन् । त्यस्तै कार्यक्रममा अर्का निर्णायक महेश आचार्यले कार्यक्रमको नजिकबाट आबद्ध रहेर काम गरिरहेको बताए । उनले राम्रो बाटोलाई उजागर गर्न कार्यक्रमले मूख्य भूमिका खेल्ने बताए ।