हलमा छैनन् नेपाली फिल्म

आज (शुक्रबार) कुनैपनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । चिसोको मौसमको कारण दर्शक हलसम्म नआउने डरले नेपाली चलचित्रका निर्माता तथा निर्देशक डराएको दुईमहिना भइसक्यो । मंसिर र पुस महिनाका लागि हलले नेपाली चलचित्र देख्न पाएका छैनन् । मंसिरको अन्तिममा केही नेपाली चलचित्र प्रदर्शनमा आए तर दर्शकले थाहै नपाउनेगरी आए र गए ।

गएको शुक्रबार र आज एक नेपाली चलचित्र पनि हलमा छैनन् । नेपाली हलमा अहिले विदेशी चलचित्रका पोष्टरमात्र देखिन्छन् । नेपाली फिल्मको खडेरी नै लागेको छ । गएको साता प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ले केही हदसम्म नेपाली दर्शक बटुल्न सफल भयो तर सलमान खानले जुन रूपमा यसअघि नेपाली दर्शकको माया पाएका थिएनन् त्यसरी यसपटक पाउन सकेनन् । कारण थियो मौसमको असर र चलचित्रको नराम्रो समीक्षा ।

आजबाट पनि दुई विदेशी चलचित्रमात्र प्रदर्शनमा आएका छन्, एक बलिउड अर्को हलिउड । अभिनेता अक्षय कुमार र करिना कपूरको मुख्य अभिनय रहेको ‘गुड न्यूज’ चलचित्रले नेपाली हलमा कब्जा नै जमाएको छ भन्दा हुन्छ । यो चलचित्रलाई क्युएफएक्स चेनले मात्र ४५ सोज दिएको छ । राज मेहताले निर्देशन गरेको यो चलचित्र हाँस्य विधामा बनेको चलचित्र हो । यस्तै हलिउड चलचित्र ‘द राइज अफ स्काई वर्कस्’ पनि सँगै प्रदर्शनमा आएको छ । यो चलचित्रले पनि क्युएफएक्स चेनमा २० सोज पाएको छ । यसरी यी दुई चलचित्रलाई नेपाली चलचित्र नहुँदा फाइदा पुगेको देखिन्छ । त्यसो त नेपाल चलचित्र प्रदर्शनमा आए तापनि बलिउड तथा हलिउडका चलचित्रले बढी सोज पाउने गरेको थिए तर यसपटक भने नेपाली चलचित्रले पाउने सोज पनि विदेशी चलचित्रले पाएका छन् ।

नेपाली चलचित्र निर्माण टिमले विशेष गरी बिदाको दिन खोजिरहेका हुन्छन् तर यसपटकको बिदाको माघे संक्रान्तिमा पनि नेपाली चलचित्रको खडेरी देखिएको छ । गएको वर्षको तुलनामा यसवर्ष चलचित्र निर्माणमा पनि गिरावट आएको छ । वर्षमा सयबढी चलचित्र बनिरहेका बेला अहिले यसवर्ष भने ३० देखि ४० प्रतिशतले गिरावट आएको तथ्यांक छ । नेपाली चलचित्रको व्यापार खस्किएका कारणले यसरी चलचित्र निर्माणमा गिरावट आएको हो । नेपालमा बनेका चलचित्रमध्ये १० देखि १५ प्रतिशत चलचित्रले मात्र मुनाफा कमाएको पाइन्छ । त्यसबाहेक अधिकांश चलचित्रले लगानीसमेत उठाउन सकेका हँदैनन् ।