भेटिँदैन हराएको मोबाइल फोन

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुमा सेवाग्राहीको सबैभन्दा बाक्लो भिड लाग्ने कोठा हो १५ नम्बर । कोही हातमा मोबाइल फोनको खोल बोकेर त कोही निवेदन त कोही प्रहरीले दिएको चिट हातमा बोकेर लाइन बसेका हुन्छन् । 

बिहान कार्यालय खुलेदेखि बेलुकी अबेरसम्म १५ नम्बर कोठा भरिभराउ हुन्छ । यो कोठा चोरी तथा हराएका मोबाइल फोनसम्बन्धी काम गर्ने शाखा हो । यहाँ हराएको निवेदन दिने तथा भेटिएको बारेमा जानकारी लिने काम हुन्छ ।

यहाँ कार्यरत प्रहरी कर्मचारीलाई अरूसँग बोल्ने फुर्सद हुँदैन । नयाँ निवेदन दिन र यसअघि दिएको निवेदनमाथि भएको कारबाहीबारे बुझ्न यहाँ दिनहुँ सयौँको संख्यामा मानिस पुग्छन् ।

परिसरका अनुसार काठमाडांै उपत्यकामा वार्षिक १५ हजारभन्दा बढी मोबाइल फोन चोरी हुने तथा हराउने गर्छन् । पछिल्लो तीन वर्षको उजुरीको तथ्यांक हेर्दा मोबाइल चोरी तथा हराउने संख्या बढ्दो छ । फेला पर्ने संख्या भने घट्दो छ । 

परिसरमा आर्थिक वर्ष ०७३÷७४ मा १२ हजार ४३० वटा मोबाइल चोरीको निवेदन परेकोमा आर्थिक वर्ष ०७५÷७६ मा यो संख्या बढेर १५ हजार ३३२ पुगेको छ । मोबाइल भेटिने संख्या भने ज्यादै न्यून छ । परिसरका अनुसार हालसम्म हराएमध्ये मोबाइल भेटिने प्रतिशत साढे १३ भन्दा माथि पुग्न सकेको छैन ।

आर्थिक ०७३÷७४ मा १२ हजार ४३० मा एक हजार ६८१ मोबाइल मात्र भेटिए भने ०७३÷७४ मा १५ हजार ७८७ मोबाइलमा १ हजार ५१८ मात्र भेटिए । आर्थिक वर्ष ०७५÷७६ मा १५ हजार ३३२ मा २ हजार ६२ मोबाइल मात्र भेटिए । चालु आर्थिक वर्षको पाँच महिनामा ६ हजार ९२९ मा ७८२ मोबाइल मात्र भेटिएको प्रहरीको तथ्यांक छ ।

परिसरको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा मोबाइल चोरी तथा हराएका ६ हजार ९५० बढी निवेदन दर्ता भएका छन् । ‘निवेदन दिन आउनेभन्दा मोबाइल भेटिएको छ कि भनेर बुझ्न आउनेको संख्या अत्यधिक हुन्छ,’ त्यहाँ कार्यरत एक प्रहरी कर्मचारीले भने, ‘दिनभर हामीलाई अरूसँग बोल्ने एकमिनेट पनि फुर्सद हुँदैन ।’ प्रहरीका अनुसार अधिकांश मोबाइल चोरी यात्राका क्रममा हुन्छ ।  

अर्काको मोबाइलमा सिम हालेर चलाउँदा पक्राउ पर्नसक्नेबारे चोर र मोबाइल भेट्टाउनेहरू सचेत हुने भएकाले नै अधिकांश मोबाइल फेला नपर्ने गरेको प्रहरीको भनाइ छ । ‘चोरीको मोबाइलमा सिम प्रयोग गर्दा प्रहरीले थाहा पाउँछ भनेर खाली इन्टरनेट मात्र चलाउँछन्,’ परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीले भने, ‘चोरीका केही मोबाइलहरू नेपालबाहिर प्रयोग हुन्छन् ।’

हराएका मोबाइल पत्ता लगाउन दूरसञ्चार सेवाप्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलबाट पनि चाहेअनुसारको सहयोग प्रहरीले नपाएको बोगटीको भनाइ छ । मोबाइल सुरक्षित राख्नुपर्ने सुझाव बोगटीको छ ।

भेटिएका मोवाइलहरू पनि अधिकांश चोरी गर्ने व्यक्तिभन्दा अर्कैले सस्तोमा किनेर चलाएको अवस्थामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ । चोरले सस्तोमा बेच्ने र किन्ने व्यक्ति फस्ने गरेको शाखाका प्रहरी नायव निरीक्षक रामचन्द्र भण्डारीले बताए ।