ç
काठमाडौं । नेपाली चलचित्र ‘नीरफूल’ भदौ २७ मा प्रदर्शन हुने भनिएको थियो तर चलचित्रको काम नसकिएको भन्दै निर्माण टिमले फागुन ३० का लागि अर्को प्रदर्शन मिति तय गरेको छ ।
चलचित्रको पोष्ट प्रोडक्सनको काम नसकिएको निर्माण पक्षबाट जनाइएको छ । भूकम्पका कारण विछोडिएको एक परिवारको प्रेमकथामा आधारित चलचित्र ‘नीरफूल’ सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् ।
गणेश हिमाल क्षेत्रमा पर्ने रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ ।
अभिनेत्री रेखा विशेष भूमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु चलचित्र हो । दयाहाङको जोडीको रूपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रूपमा चलचित्रमा देखिँदैछिन् । चलचित्रको पटकथा निर्देशक बल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रूपमा पनि छन् ।




















