सेल्फी किंगकी केकी

काठमाडौं । नयाँ चलचित्र ‘सेल्फी किंग’ मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । विपिनको चलचित्रको लुक्स पनि दर्शकले देखिसकेका छन् । चलचित्र टिमले टिजरसमेत सार्वजनिक गरिसकेको छ त्यसैले पनि दर्शकमाझ थप उत्सुकता थपिएको छ । यसैबीच नायिका केकी अधिकारीलाई पनि चलचित्र टिमले यो चलचित्रको हिस्सा बनाएको छ । 

चलचित्रको एक गीतमा केकी अधिकारीले नृत्य गरेकी छिन् । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किंग उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाइज फिचर्ड छन् । कथाअनुसार नै चलचित्रमा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ‘जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द, सुभाष भुसालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । 

गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारका रूपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् । ‘सेल्फी किंग’ नामले परिचित एक चर्चित हाँस्यकलाकार (टेलिभिजन) ले कलायात्राको दौरानआफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । 

विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवनचन्द, अभय बराल, लोकमण्ाि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायत कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छन् । गतवर्षको सफल फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्तरूपमा यसलाई निर्माण गरेका हुन् । फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदयपौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको शृंगार, आशिष पौडेलको कष्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , विनोद पौडेलको स्टिल फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।