सलमानको प्रोडक्सनमा सुनिल थापा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको प्रोडक्सनमा बन्न लागेको नयाँ हिन्दी चलचित्र ‘क्वाथा’का लागि नेपाली चलचित्रक्षेत्रका चर्चित अभिनेता सुनिल थापालाई अफर आएको छ । यसअघि पनि बलिउड चलचित्रमा आफ्नो काम देखाइसकेका सुनिलले उक्त चलचित्रमा काम गर्ने मौखिक सहमति भइसके पनि लिखित सम्झौता गर्न बाँकी रहेको सुनिल बताउँछन् ।

बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यु गर्ने यो चलचित्रमा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । सलमानका ज्वाइँ आयुष शर्माको प्रमुख भूमिका रहने उक्त चलचित्र करण भुटानीले निर्देशन गर्दैछन् । आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको उनको भनाइ छ । उक्त चलचित्रको नेपालमा छायांकनमा आफूले पहल गरिरहेको सुनिल थापा बताउँछन् । उनी भन्छन्, ‘फिल्मको छायांकन थाइल्याण्डमा गर्ने तयारी छ, मैले युनिटलाई छायांकनमा नेपाल आउने प्रस्ताव गरेको छु ।’

करिब तीन सय नेपाली चलचित्रमा काम गरिसकेका सुनिलले सन् १९६४ मा चेतन आनन्दको चर्चित चलचित्र ‘साहिबबहादुर’बाट बलिउडमा डेब्यु गरेका थिए । पछिल्लो पटक उनी चलचित्र ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु पनि बनेका थिए ।