बैंकबाट ५ अर्ब झिक्ने ह्याकरहरुको योजना

काठमाडौं । विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर नेपालका बैंक ह्याकको योजना बनाएको खुलेको छ । 

 प्रहरीले ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरिय अपराध महाशाखाले मंगलबार र बुधबार पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ नगद समेत बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महानगरीय अपराध महाशाखाले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।भारतको नयाँदिल्लीमा बस्दै आएका पिटर नामक विदेशीले नेपाली नागरिकहरु प्रयोग गरी कृषि विकास बैंकबाट रकम लुटेका हुन् ।

यो गिरोहले कैलाश विकास बैंक, नबिल बैंक र पानस रेमिटबाटसमेत रकम ह्याक गरेको खुलासा भएको छ । पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सन्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढा रहेको प्रहरी जनाएको छ ।

पिटरले यी व्यक्तिहरु प्रयोग गरी हुन्डीमार्फत् रकम बुझ्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने उनीहरुको योजनालाई प्रहरीले विफल पारेको उनको भनाइ छ ।

पिटर नामका विदेशीले रकम ह्याक गरी गिरोहका नेपाली सदस्यहरुको खातामा पठाउने र हुन्डी गरेवापत् १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेकोे अनुसन्धानबाट खुलेको छ ।