नक्कली धितोमा ऋण दिएको अभियोगमा बैंकका पूर्व सीईओसहित पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहितलाई प्रहरीले पक्राउ गरेको ब्युरो बतायो ।

उनीहरूलाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए।

दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको हो ।