रमा लुइँटेल
ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चित्र अंकित सिक्का सार्वजनिक भएको छ । ललितपुरमा मंगलबार आयोजित एक समारोहमा ती सिक्का सार्वजनिक गरिएको हो ।
मंगलबार ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गरेका हुन् । उक्त अवसरमा मन्त्री खतिवडाले शताब्दी पुरुष जोशीले १० जना गभर्नर फटाइसकेको बताए ।
अर्थमन्त्री डा. खतिवडाले संस्कृतिविद् जोशीको योगदान अमूल्य रहेको बताए । उनले भने, ‘उहाँको योगदानको ऋण तिर्न सक्दैनौं, सम्मान गर्न सक्छौं ।’
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले टकमारी गरेको रुपैयाँ एक सय, एक हजार र पच्चीस दरका स्मारिका सार्वजनिक गरिएको छ । ललितपुर महानगरपालिकाले जोशीको जन्म शताब्दी सिक्का प्रकाशनका लागि संघीय सरकारसँग अनुरोध गरेको थियो । गत वैशाख ३० गते सय वर्षमा प्रवेश गरेका सत्यमोहनको शताब्दी जन्मोत्सव मनाउन महानगरले यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्नेछ ।
२५ सयको २५ हजार, एक हजारको २५ हजार र एक सयको १० हजार सिक्का बनाइएको छ । सिक्का पुल्चोकस्थित ललितपुर महानगरपालिका र राष्ट्र बैंकबाट लिन सकिने जनाइएको छ ।
कार्यक्रममा छोटो मन्तव्य राखेका जोशीले एक हजारको नोटमा रहेको हात्तीको चित्रबारे एक स्मरण सुनाए । उनले भने, ‘केहीवर्ष अघि हजारको नोटमा भएको हात्ती नेपालको नभएर श्रीलंका वा भारतको थियो ।’ उनले आफ्नै सुझाव अनुसार नेपाली हात्तीको चित्र राखिएको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष चिरीबाबु महर्जनले जीवन छँदा नै व्यक्तिको सम्मान गर्ने परम्पराको थालनी गर्न वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेको बताए । उनले जीवित व्यक्तिको तस्वीर सिक्कामा राखिएको यो पहिलो भएको बताए । उनले भने, ‘यो कलासंस्कृतिको सम्मान हो ।’
ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले सत्यमोहन जोशी मुलुककै गौरव भएको बताउँदै उनको सम्मान कला संस्कृतिको सम्मान भएको बताइन् ।
राष्ट्र बैंकका प्रवक्ता एवं वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वाङ्मय शताब्दी पुरुष जोशी जीवित इतिहास भएको बताउँदै तस्वीर अंकित सिक्का सार्वजनिक गर्न पाउनु गर्वको विषय भएको बताए ।
जन्म शताब्दी वर्ष कार्यसम्पादन समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले एक वर्षभरिका कार्यक्रमबारे जानकारी दिए ।




















