रौतहट । रौतहटका अविलाश सहनीले चार वर्षअघि आफ्नो गच्छेअनुसार दाइजो दिएर जेठी छोरी सञ्जुदेवीको बिहे गरे । बिहे भएर गएपछि छोरीको घर राम्रै चलेको थियो । एक सन्तान पनि भयो ।
एकाएक सहनीको परिवारमा बज्रपात परेको छ । शुक्रबार बिहान छोरी सञ्जुको मृत्युको खबर आयो । अविलाशले पाँच महिनाअघि कान्छी छोरीको बिहे गरे । कान्छी छोरीको बिहेमा मोटरसाइकल दाइजो दिए । बहिनीको सञ्जुको परिवारमा खटपट सुरु भयो ।
सञ्जुका श्रीमान् रामबाबुले पनि मोटरसाइकल दिलाउन दबाब दिन थाले । अविलाशले मोटरसाइकल दिन सकेका थिएनन् । एकाएक सञ्जुको मृत्युको खबर आयो ।
अविलाशले छोरीको स्वाभाविक मृत्यु नभई हत्या भएको भन्दै ज्वाइँ र सम्धीविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले रामबाबु र उनका बाबुलाई पक्राउ गरेको छ । मोटरसाइकल दाइजो नदिएका निहुँमा यातना दिएर हत्या गरेको सञ्जुका माइतीको आरोप छ । रौतहटको राजपुर नगरपालिका–७ अकोलवामा आफ्नै घरमा २५ वर्षीया सञ्जु देवीको बिहीबार साँझ शंकास्पद मृत्यु भएको हो ।
छोरीलाई डोरीले घाँटी कसेर मारेको भन्दै सञ्जुका बुबा अविलाशले प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । कान्छी छोरीको बिहे भएपछि जेठो ज्वाइँ रामबाबुले मोटरसाइकल दाइजो मागेको अभिलाशको भनाइ छ । सोही निहुँमा आफ्नी छोरीलाई बारम्बार यातना दिने गरेको र बिहीबार साँझमा डोरीले घाँटी कसेर हत्या गरेको हुनसक्ने आशंका उनले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कार्कीले घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको जानकारी दिए । उनले मृतक सञ्जुको घाँटीमा डोरीको डाम देखिएको र पोष्टमार्टम रिपोर्टबाट पनि सोही चोटको कारणले मृत्यु भएको पुष्टि बताए । उनले पक्राउ परेका बाबुछोराले भने सञ्जु बिरामी रहेकीले औषधि सेवन गरिरहेकी र राति सुतेकै स्थानमा मृत्यु भएको जिकिर गरेको प्रहरीको भनाइ छ । उनले पक्राउ परेका दुवैजनालाई ज्यान कसुरसम्बन्धी मुद्दाअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्ने र केही दिनमा स्पष्ट नतिजा आउने विश्वास व्यक्त गरे ।




















