दशैंका लागि अग्रिम टिकट असोजको पहिलो सातादेखि

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ असोजको पहिलो साता खोल्ने तयारी भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भइरहेको छलफलमा दशैंका लागि असोजको पहिलो सातादेखि अग्रिम टिकट खोल्ने गरी सैद्धान्तिक सहमति खोजिएको बताइएको छ । यद्यपि, अग्रिम टिकट खुला गर्ने मिति भने अझै तोकिएको छैन । 

यातायात व्यवस्था विभागका अनुसार असोजको पहिलो साताबाट बुकिङ खोल्ने गरी व्यवसायीहरूसँग छलफल भइरहेको छ । विभागका निर्देशक बन्दुप्रसाद बास्तोला भन्छन्, ‘विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच उक्त विषयमा छलफल भइरहेको छ तर कुुन दिन भन्ने तोकिएको छैन ।’ अघिल्ला वर्षहरूमा घटस्थापना भन्दा एक साता अगाडि बुकिङ खुल्ला गरिएको भन्दै उनले यस वर्ष पनि सोही अनुसारको तयारी भइरहेको बताए । ‘दुवै पक्ष सहमत हुने गरी छलफल हुँदै छ, हामी समयमै बुकिङ खुल्ला गराउछौँ,’ उनले भने ।

दशैंका लागि अग्रिम बुकिङको आन्तरिक तयारी भइरहेकाले एक सातापछि मिति तोक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसवर्ष बाढी र पहिरोका कारण राजमार्गहरू भत्किएकाले नयाँ सवारी भन्दा पनि भएका गाडीहरूको व्यवस्थापनको विषयमा आन्तरिक तयारी भइरहेको उनले जनाए ।

यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउन व्यवसायी तयार भए पनि सरकारी निकायले सडक निर्माणमा पहल नगरेको उनको आरोप छ । सिटौला भन्छन्, ‘हामी यात्रुलाई सहज रुपमा गन्तव्यमा पु¥याउन तयार छौँ तर सरकारले सडकको अवस्था अहिलेसम्म राम्रो बनाउन सकेको छैन ।’ यातायात भाडा बढाउने र यातायात संघ–समितिका बैंक खाता फुकुवा गर्नुपर्ने आफूहरूको माग यथावत रहेको उनको भनाइ छ । 

यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातयातको क्षेत्रमा रहेको सिण्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । व्यवसायीहरू कम्पनीमा जान विभागले सर्कुलर जारी गरेलगत्तै खाताबाट ठूलो परिमाणमा रकम निकाल्न थालेपछि २०७५ वैशाख १२ गते बैंक खाता रोक्का गरिएको थियो । यातयात व्यवसायीहरूले सुरुदेखि नै बैंक खाता खोलिदिन माग गर्दै आएका थिए । बैंक खाता रोक्का हुँदा दुर्घटना बिमा, घाइतेको उपचार गर्न नसकिएको, कर्मचारीलाई तलव खुवाउन नसकिएको व्यवसायीहरूको गुनासो छ ।

दशैंमा काठमाडौंबाट घर फर्किनेहरूका लागि सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । यातायात व्यवसायीले भने अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग राखेर सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

गत वर्ष यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका थिए । २०६९ सालपछि वैज्ञानिक रूपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग थियो ।

हरेक वर्ष १५ देखि २० लाख मानिसहरू दशैं मनाउन काठमाडौंबाट बाहिरिने गरेका छन् । यो वर्ष भने २० लाखभन्दा बढी मानिसहरू दशैं मनाउन काठमाडौंबाट बाहिरिने पूर्वानुमान गरिएको छ ।File photo