उत्कृष्ट तीज गीत चम्पलै हरायो

काठमाडौं । यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये ‘चप्पलै हरायो’ बोलको गीत उत्कृष्ट तीज गीत ठहरिएको छ । छायांछवि क्रिएसनले वर्षेनी आयोजना गर्दै आएको ‘छायांछवि तीज म्युजिक अवार्ड’को छैटौं संस्करणमा कृष्णा परियारको ‘चप्पलै हरायो’ गीतले अवार्ड उचालेको हो । 

यसका साथै गायिका कला लम्सालको ‘पातली’बोलको गीतले मौलिक तीज गीतको अवार्ड पाउन सफल भयो । ३२ विधामा अवार्ड प्रदान गरेको कार्यक्रममा वरिष्ठ अभिनेत्री त्रय वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दीपाश्री निरौला, वरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी केसी, रेजिना उप्रेतीलगायतको उपस्थिति थियो । 

हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत समृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराका साथ आयोजीत ‘छैटौं छायांछवि तीज म्युजिक अवार्ड २०७६’मा करिब डेढ दशकदेखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रूपैयाँसहित छायांछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।

समारोहमा उत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘गाउँ र सहर तीजको लहर’ बोलको गीतका लागि अंजना गुरुङले पाइन् । यस्तै उत्कृष्ट तीज दोहोरी गीतको रूपमा देवी घर्तीको स्वरमा रहेको ‘जमाना अनुसार’बोलको गीतले पायो । यस्तै उत्कृष्ट तीज दोहोरी गीत गायिका ‘लेउ लाग्यो’ बोलको गीतबाट शुशीला गौतम भइन् भने उत्कृष्ट तीज दोहोरी गीत गायकमा ‘रिडी दोभान’बोलको गीतबाट लेखनाथ आचार्य ले अवार्ड पाए । साथै उत्कृष्ट तीज गीत कम्पनीमा ‘बरी लै’बोलको गीतबाट शुभश्री फिल्मस् प्रालिले अवार्ड उचाल्यो ।