काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷७६ देखि नेपालबाट पाम आयल र भटमास तेल पनि निर्यात हुन थालेको छ । पाल आयल र भटमासको तेल गरी कुल १० अर्ब ७५ करोडको निर्यात भएको हो । अघिल्लो वर्ष यी वस्तुको निर्यात थिएन । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठसम्ममा पाम आयल र भटमास क्रमशः ८ अर्ब ७० करोड तथा २ अर्ब ५ करोडको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । यी वस्तुको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ९.९ प्रतिशत र २.१ प्रतिशत रहेको छ ।
त्यसो त समीक्षा अवधिमा कच्चा पाम आयलको आयात १४४.१ प्रतिशतले वृद्धि भई १० अर्ब ५४ करोड र कच्चा भटमास तेल आयात १२ अर्ब १४ करोड रहेको छ । ११ महिना वैदेशिक व्यापार १६.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८७ अर्ब ६७ करोड पुगेको छ । कुल व्यापारमा निर्यातको तथा आयातको योगदान क्रमशः ६.३ प्रतिशत र ९३.७ प्रतिशत रहेको छ ।
समग्र निर्यात उल्लेख्यरूपमा सुधार भए तापनि आयात वृद्धिका कारण व्यापार घाटामा १६.४ प्रतिशतले वृद्धि भई कुल १२ खर्र्ब १२ अर्ब व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात १९.२ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ अर्ब तथा कुल आयात १६.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आवको ११ महिनामा निर्यात–आयात अनुपात १ः१५.१ रहेकोमा आव २०७५÷७६ को सोही अवधिमा यस्तो अनुपात अनुपात १ः१४.८ रहेको छ । सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, पाम आयल, ऊनी गलैँचा, फलाम तथा स्टील र तिनका उत्पादन, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, अलैँची, कपडा, चिया, पश्मिना सल प्रमुखरूपमा रहेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिस्टर तथा अन्य धागो १९.४ प्रतिशतले वृद्धि भई ९ अर्ब ३ करोड, फलाम तथा स्टील र तिनका उत्पादन निर्यात १७.९ प्रतिशतले वृद्धि भई ५ अर्ब ९७ करोड पुगेको छ । ऊनी गलैँचाको निर्यात ५.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ७७ करोड पुगेको छ । ऊनी गलैँचा निर्यातका नेपालको स्थान विश्वमा चौथो स्थानमा रहेको छ भने विश्वको कुल ऊनी गलैँचाको निर्यातमा नेपालको हिस्सा ८.९१ प्रतिशत रहेको छ । तयारी पोसाकको निर्यात ६.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५९ करोड पुगेको छ ।
जुट तथा जुटका उत्पादनको निर्यात ४२.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ४२ करोड पुगेको छ । त्यसतै ३ अर्ब ६७ करोडको जुस, २ अर्ब ८९ करोडको चिया, ३ अर्ब १० करोडको टेक्सटाइल, ४ अर्बकोे अलैँची, १ अर्ब ७४ करोडको पश्मिना सल, १ अर्ब ८० करोडको फेल्ट, १ अर्ब ३६ करोडको जडीबुटी निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात २७.६ प्रतिशतले वृद्धि भई १ खर्ब ९७ अर्ब २८ करोड पुगेको छ भने फलाम तथा स्टील र तिनका उत्पादनको आयात १९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ५१ अर्ब ११ करोड, मेसिनरी तथा पार्ट्समा ५.२ प्रतिशतले ह्रास आई १ खर्ब ९ अर्ब ८९ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा ८.१ प्रतिशतले वृद्धि भई ८४ अर्ब ४३ करोड पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ३४.३ प्रतिशतले वृद्धि भई ५४ अर्ब २० करोड, खाद्यान्न आयात १५.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९७ करोड, हवाईजहाज तथा हवाईजहाजका पार्ट्स आयात १७३.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ६ करोड, तयारी पोसाक आयातमा ११२.५ प्रतिशतले वृद्धि भई ३० अर्ब ३१ करोड पुगेको छ । सुन आयात १०. ८ प्रतिशतले वृद्धि भई ३१ अर्ब ६५ करोड पुगेको छ भने औषधी आयात १०.३ प्रतिशतले वृद्धि भई २७ अर्ब ५२ कराड पुगेको छ । पोलिथिन ग्रेन्युल्सको आयातमा १५.५ प्रतिशतले वृद्धि भई २० अर्ब ६४ करोड पुगेको छ । सो अवधिमा १४ अर्ब ५७ करोडको रासायनिक मल र ११ अर्ब ४६ करोडको सिमेन्ट क्लिंकरसमेत आयात भएको छ ।
दूरसञ्चारका सामाग्री आयात १०.० प्रतिशतले कमी आई २६ अर्ब ९७ करोड पुगेको छ । समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामाग्रीहरू जस्तैः फलाम, स्टील तथा तिनका सामानहरू, सिमेन्ट, आलुमुनियम, तामाजस्ता वस्तुहरूको आयात वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ । मलको आयात वृद्धि देखिए तापनि यस्तो आयातले कृषि उत्पादन वृद्धिमा ठूलो भूमिका खेलिरहेको छ ।



















