काठमाडौ । सार्थक जनसंगीत प्रतिष्ठान नेपालका तर्फबाट ‘सार्थक संगीत सम्मान २०७५’ दिवंगत जनवादी गायक प्रचण्डबहादुर बुढाथोकीलाई समर्पण गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच २५ हजार रुपैयाँसहितको यो सम्मान दिवंगत श्रष्टा बुढाथोकीकी छोरी सिन्धु जलेजाले ग्रहण गरिन् ।
यस्तै सार्थक संगीत पुरस्कार–२०७५ जनगायिका प्रगति महरालाई प्रदान गरियो । दुई दशकदेखि निरन्तर जनगीत गाउँदै आएकी उनको योगदानको कदरस्वरूप सो पुस्कार प्रदान गरिएको हो । उनलाई १५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो ।
सोही कार्यक्रममा गायक तथा संगीतकार उदय श्रेष्ठ र गीतकार श्याम तमोटको संयुक्त गीतीसंग्रह ‘महाडका कुरा मधेसका कुरा’ विमोचन गरियो । कार्यक्रममा जनवादी गायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन (नारायणभक्त श्रेष्ठ) वरिष्ठ जनगायक रामेश श्रेष्ठ, जेवी टुहुरे र सीमाविद् बुद्धिनारायण श्रेष्ठले संयुक्त विमोचन गरे ।
संग्रहको एउटा गीत अग्रज गायक रामेशले कार्यक्रममा सुनाएका थिए । विमोचित संग्रहमा सातवटा गीत छन् । यी गीतहरू आफूले २०५० पछि अहिलेसम्म लेखेको गीत रहेको गीतकार तमोटले बताए ।
तमोटका गीतहरू उत्कृष्ट भएकाले आफूले संगीत गरेको पनि संगीतकार उदयले कार्यक्रममा प्रकाश पारे । संग्रहका ती गीतलाई रामेश, जेवी टुहुरे, ओम श्रेष्ठ, मधु गुरुङ, भूमिका सुब्बा, आकाश थापा, पवित्रा घर्ती, दिवस श्रेष्ठ र संगीतकार उदय श्रेष्ठले गाएका छन् ।




















