पल्सर स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टसअवार्डअन्तर्गत चारवटा विधागततर्फका मनोनयन मंगलबार सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर वर्ष उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । 

अवार्डका लागि मञ्चले गठन गरेको खेलाडी छनोट समितिले लामो समय अध्ययन गरी तयार पारिएको बर्षका उत्कृष्ट पुरुष विधाको खेलाडी मनोनयनमा प्याराग्लाईडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कर्मी, गल्फका शुक्रराज राई, जुडोका इन्द्रबहादुर श्रेष्ठ छन् ।

युकेश गुरुङले १८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा नेपाललाई रजत पदक दिलाएका थिए । उनले स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्डकपमा पनि कास्य पदक जितेका हुन् ।

पारस खड्का नेपाललाई पहिलो एकदिवसीय शृंखला जिताउदाका कप्तान हुन् । नेपालले युएईलाई तीन म्याचको एकदिवसीय शृंखलामा २–१ ले हराउँदा उनले शतक प्रहार गरेका थिए । यस्तै क्रिकेटका सोमपाल कामी नेपालले खेलेका हरेक प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेपछि वर्ष खेलाडीको मनोनयनमा परेका हुन् ।

गल्फका शुक्रबहादुर राईले गतवर्ष व्यावसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जित्न सफल रहे । उनले सूर्य नेपाल गल्फ टुरको तीन एमेच्योर उपाधि जितेका थिए । उनले ३४औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा समेत स्वर्ण पदक हात पारेका थिए ।

जुडोका इन्द्रबहादुर श्रेष्ठले गत वर्ष नेपालमै भएको दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । उनले भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् ।

त्यस्तै, बर्ष महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् । यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । 

त्यस्तै प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरी खड्का मनोनयनमा परेका छन् । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनीक गरिसकेको छ । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् ।

वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार नगदसहित गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ । यस्तै मुख्य सहप्रायोजकको रूपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डष्टार र मुख्य सहप्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड छ ।