काठमाडौं । दुई साताअघिसम्म चलचित्र ‘जात्रै जात्रा’ हेर्न हलमा दर्शकको भीड देखिन्थ्यो । जब बलिउड चलचित्र ‘भारत’ नेपालमा प्रदर्शनमा आयो तब ‘जात्रै जात्रा’का लागि ‘शो’ हृवात्तै घटाइयो । बलिउडका सुपरस्टारको फिल्म भन्ने वित्तिकै चलिरहेको नेपाली चलचित्रलाई हलवालाहरूले साइड लगाइदिए ।
भारतले नेपाली हलहरूमा त्यस्तो धेरै कमाल गरेको देखिँदैन । आज शुक्रबारसम्म आउँदा भारत हेर्ने नेपाली दर्शक निकै कम हुँदै गएका छन् । मल्टिप्लेक्स हलहरूले राम्रो शो दिए पनि दर्शकको संख्या मध्यम छ ।
यस्तै आज शुक्रबारबाट नयाँ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘प्रेम दिवस’ जसमा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीको अभिनय छ । तर आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘झट्का’लाई भने मल्टिप्लेक्स हलहरूले शो दिएका छैनन् । प्रदर्शनअघि कुनै चर्चा नभएको ‘झट्का’ले सिंगल थिएटरहरूमा लाग्नेछ । तर यो चलचित्र नेपालका अधिकांश हलमा प्रदर्शन भएको छैन ।
यता प्रियंकाको नेपाली चलचित्रमा जति हाइप छ ‘प्रेम दिवस’लाई त्यो अनुसारको ‘शो’ मल्टिप्लेक्सले दिएका छैनन् । आयुष्मान देशराज जोशी र प्रियंकाको मुख्य भूमिका रहेको यो चलचित्रको प्रदर्शनअघि धेरै चर्चा सुनिएन । त्यसैले पनि मल्टिप्लेक्स हलहरूले यो चलचित्रलाई विशेष चासो नदिएको बुझ्न सकिन्छ ।
यो चलचित्रलाई क्युएफएक्सले जम्मा चार शो दिएको छ । बरू, पाँचांै हप्तामा प्रवेश गर्न लागेको ‘जात्रै जात्रा’लाई पाँच शो दिइएको छ । तर बलिउड चलचित्र भारतलाई अझै पनि १४ शो दिइएको छ । नेपाली चलचित्रभन्दा यस साता पनि विदेशी चलचित्रलाई नै विशेष स्थान दिइएको देखिन्छ ।
आजैबाट बलिउड र हलिउडका अरू चलचित्र पनि प्रदर्शन भएका छन् । हलिउडमा निर्माण भएको ‘पेट २’ चलचित्र आजैबाट प्रदर्शनमा आएको छ । यस्तै अर्को हलिउड चलचित्र ‘म्यान इन ब्ल्याक’पनि प्रदर्शनमा आएको छ । बलिउड चलचित्र ‘दे दे प्यार दे’ पनि प्रदर्शनमा आएको छ । जसमा अदय देवनको मुख्य भूमिका छ ।
नेपालमा हलमा चलिरहेका चलचित्रलाई पनि हटाएर विदेशी चलचित्र लगाउने चलन अझै पनि चल्दै आएको छ । विदेशी चलचित्रको रोयल्टी नेपाली चलचित्रको हकमा बढी आउने हुनाले पनि नेपाली हलवालाले नेपाली चलचित्रलाई पहिलो स्थानमा राखेको पाइँदैन । विदेशमा जुन मितिमा चलचित्र प्रदर्शनमा आएको छ त्यो मितिमा नेपालमा पनि सोही मितिमा प्रदर्शन हुँदै आएकोमा चलचित्र विकास बोर्डका नवनिर्वाचित अध्यक्ष केशव भट्टराईले शुक्रबारै चलचित्र प्रदर्शन गर्ने नियम त ल्याए तर अझै राम्रा नेपाली चलचित्रले मल्टिप्लेक्स हलमा राम्रो शो पाउन सकेका छैनन् ।




















