पूर्वी तराईमा डेंगु संक्रमणसहित अध्यधिक गर्मीको चपेटा

काठमाडौं । डेंगु संक्रमणको तीव्रतासँग पूर्वी तराईमा बढेको गर्मीले जनजिवन प्रभावित बनेको छ । डेंगु नियन्त्रणका लागि एक नम्बर प्रदेश सरकारले सचेततापूर्वक आफ्नो क्रियाकलाप सुरु गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पूर्वका धरान, विराटनगर, झापालगायत स्थानमा डेंगुको संक्रमण नियन्त्रण बाहिर गएको छ । सुनसरीको धरानलाई डेंगु प्रभावित क्षेत्र घोषणा नै गरिएको परिप्रेक्ष्यमा देशभरी गर्मी अध्यधिक बढेको छ । धरानमा महामारीकै रुप लिएको डेंगु मोरङपछि झापामा पनि भेटिएको छ ।

पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलप्रसाद पौडेलका अनुसार झापामा डेंगु रोकथामबारे कुनै कार्यक्रम अघि बढाइएको छैन । 

काठमाडौं उपत्यका लगायत तराईमा उच्च गर्मी भएको र पहाडी क्षेत्रमासमेत दिउँसो गर्मी महसुस भइरहेको हो । झापा, मोरङलगायत जिल्लामा अध्याधिक गर्मीका कारण दिउँसो मानिस बाहिर निस्कन समेत सकेका छैनन् । सहरमा यातायातको चाप पनि कम भएकोा छ । बाटोघाटोमा आवतजावत गर्ने मानिसको संख्या धेरै कम भएको छ । अधिक घामका कारण मजदुरी गरेर जिविका चलाउनेहरु गर्मीको मारमा परेका छन् । रिक्सा–अटो चलाएर गुजारा चलाउनेहरु समस्यमामा परेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिपायलमा ४१, धनगढीमा ४०, नेपालगंजमा ३९, सिमरा र विराटनगरमा ३७ डिग्रि सेन्टीग्रेट तापक्रम मापन गरिएको छ ।

 महाशाखाले आगामी तीनदिनसम्म देशभर गर्मी यथावत रहने बताएको छ । शुक्रबार राति पनि देशकका मध्य पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै पुर्वी भागमा सामान्य बदली र बाँकी  भागमा आंशिक बदली हुनेछ। पुर्वी भागका केही स्थान र मध्यपश्चिमी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

त्यस्तै शनिबार दिउँसो देशैभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। शनिबार राति पनि पूर्वी र पश्चिमी भागमा सामान्य बदली हुनेछ। आइतबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।