आङ खस्ने रोग र पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न

सप्तरी ।  आङ खस्ने रोग र पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।

सप्तरीको पूर्वी क्षेत्रमा पर्ने कञ्चनरुप नगपालिकाको छुट्टाछुट्टै तीन ठाउँमा गरी छ दिन संचालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच सम्पन्न भएको हो ।

 शिविरमा एक सय तीन जना शङ्कास्पद बिरामी भेटिएका छन्। ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ भन्ने नारासहित कञ्चनरुप नगरपालिका ११ ठेलिया, ५ पिप्रा पूर्व र ८ कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुईरदुई दिन गरी छ दिन शिविर संचालन भएको थियो । 

तीन ठाउँको शिविरमा आठ सय ३८ जना बिरामी महिलाको जाँचसहित चार सय ११ जनाको पाठेघरको मुखको जाँच गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले बताए । 

संयोजक गुप्ताका अनुसार त्यसमध्ये एक सय तीन जना महिला पाठेघरको मुखको क्यान्सर भएका शङ्कास्पद बिरामी र २८ जना आङ् खसेको पाइएको छ।  कञ्चनपुर शिविरमा जाँच गराएका तीन सय ५४ जना बिरामीमध्ये एक सय ८२ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो। त्यसमध्ये ४८ जना शङ्कास्पद रहेको र १२ जनाको पाठेघर बाहिर निस्किएको भेटिएको संयोजक गुप्ताले उल्लेख गरे। 

 धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मनोज साह, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ब्रजेश कुमार झा , नर्सिङ् अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. संजिव कुमार झालगायतको टोलीले शिविरमा महिलाहरुको जाँच गरेको थियो ।