बजेट दोधारे नभएर दुई धारे : अर्थमन्त्री खतिवडा

काठमाडौं  । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६–७७ को बजेट दोधारे नभएर दुई धारे भएको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले ‘दोधारे होइन ।’ सरकाले यो वर्ष पूर्वाधार विकासमा जोड दिएको बताउँदै उनले बजेट छरिएको कुराको पनि खण्डन गरेका छन् । आर्थिक वृद्धिलाई सघाउने क्षेत्रबाट काम गरिरहेको बताउँदै  मन्त्री खतिवडाले सामाजिक सुरक्षा र विकास अभियानलाई एकसाथ अघि बढाउन सरकार लागि परेको जानकारी दिए । उनले भने ‘हामीले दुई धारे अर्थनीति लिएका छौँ’ ।

बुधबार अर्थमन्त्रालयमा सञ्चारमन्त्री गोकुल बाँस्कोटासहित उपस्थित भएका अर्थमन्त्री खतिवडाले आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । 

स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा यो वर्ष ठुलो बजेट छुट्याइएको बताउँदै खतिवडाले वीर जस्ता ठुला अस्पतालको संरचना निर्माणमा बजेट लगाइएको बताए ।  उनले आफूले बजेट छुट्याएका विभन्नि क्षेत्रबारे चर्चा गर्दै प्रतिफल दिने कुरामा कुनै शंका नरहेको बताए । खतिडाले सडक, विमानस्थल र पुल जस्ता पूर्वाधारको विकासमा सरकार लाग्ने पनि बताए ।  

उनले गौतम बुद्ध विमानस्थल, पोखरा विमास्थल जस्ता ठुला विमास्थलको निर्माण एक वर्षमै सक्ने गरी बजेट विभाजन गरिएको जानकारी दिए । 

खतिवडाले सरकारले विद्युत् विस्तारलाई पनि विशेष जोड दिएको बताए । उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिजुली पु¥याउन सरकार यो वर्ष लागिरहने बताए । 

 सडक पूर्वाधारमार्फत उत्तर दक्षिण नाका पनि जोडिने बताए । उनले ओलाङचुङगोल, किमाथाङ्का, गोरखाको नाकासहितमा सडकको पूर्वाधार र्पुयाएर उत्तरी छिमेकीसँग जोडिने पनि बताए ।  काठमाडौ–निजगढ फास्ट ट्रयाकको काम तीब्र गतिमा भइरहेको बताउँदै खतिवडाले डीपीआरले नरोकिने जानकारी दिए । 

साथै अर्थमन्त्री खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको भने बचाउ गरेका छन् । उनले सांसदलाई पैसा दिएको नभई आयोजना छनोट र कार्यान्वयनको अनुगमन गर्ने अधिकार मात्र दिइएको बताए । सांसदले जनता सामु गरेका विकासका कबोललाई पूरा गर्न यस प्रकारको कदमले जनप्रतिनिधीको कदर हुने उनको भनाइ थियो । उनले भने, ‘उहाँहरुको जाजय कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन । जनप्रतिनिधि नै संलग्न नभएको विकास कस्तो होला ?’