बझाङ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि यार्सा संकलन गर्नका लागि लेक तिर जानेको लर्को लागेको छ । तीन महिना लेकमा गएर यार्सा संकलन गरी सुर्मा, काँडा, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयहरु अहिले लेक तिर यार्सा गुम्बा संकलन गर्न जान थालेका छन । तीन महिना यार्सा संकलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि यहाँका स्थानीयहरु स–परिवारसहित यार्सा संकलन गर्न लेक तिर जाने गरेको स्थानीय उमेस बोहराले बताए । यहाँका धेरै जस्तो स्थानीयहरुले यार्सा संकलन बाट नै सदरमुकाम चैनपुर, धनगडी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) काठमाडौंसम्म घर तथा जग्गा खरीद गरी सकेका छन् ।
अहिले लेकमा हिउँ भएको भए पनि तल्लो बेल्ट तिर यार्सा पाइन थाले पछि लेक तिर जान थालेका हुन् । बैशाख महिनाको पहिलो साताबाट लेक तिर जाने गरेका यहाँका स्थानीयहरु असार महिनाको अन्तिम तिर मात्र घर फिर्ता हुने गर्दछन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयहरु अहिलेको सिजनमा घरमा ताला लगाएर यार्सा संकलन गर्न जाने गरेको सुर्मा गाउँपालीकाका पे्रमबहादुर बोहराले बताए । यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महिना यार्सा संकलन गरेर वर्ष भरिका लागि परिवारको लालन पालन गर्ने गरेको उनले बताए ।
सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्ध वृद्धा र स–साना हिँडडुल गर्न नसक्ने बालबालिका बाहेक सबै अहिलेको सिजनमा यार्सा संकलनका लागि लेक तिर लागेको स्थानीय कलक बहादुर बोहराले बताए । विगतका बर्षहरु भन्दा क्रमीक रुपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ । गाँउ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा संकलनका लागि लेक तिर गएको बोहराले बताए ।
विद्यालय बन्द
सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर देशब्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरै जसो सरकारी विद्यालय तिन महिनाका लागि बन्द भएका छन् । विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकहरु समेत यार्सागुम्बा टिप्न लेक तिर लागे पछि यहाँका विद्यालयहरु असार मसान्तसम्मका लागि बन्द भएका हुन् जिल्लाका साइपाल, सुर्मा गाँउपालिकाका सबै विद्यालयहरु बन्द भएका छन् भने तल्कोट गाँउपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयहरु समेत बन्द भएका छन् । अझै केहि विद्यालयहरु यसै महिनाको अन्तसम्म बन्द हुन सक्ने साइपाल गाउँपालिकाका स्थानीय बसन्त बोहराले बताए । चैतको महिना बार्षिक परिक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए ।
यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७/८ बर्षका बालक देखि ७० वर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर चढ्ने गरेका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै केही शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्नका लागी पाटन तिरै उक्लिएका छन् ।
चैतको अन्तिम साताबाट यार्सागुम्बा संकलन सुरु गरी असारको मसान्त सम्म टिप्ने क्रम जारी हुनाले ३ महिना बिद्यालयहरु पुर्ण रुपमा बन्द हुने गरेका साईपाल गाँउपालिकाका एक शिक्षक उज्वल बोहराले बताए । उनले भने ‘विद्यार्थीहरु सबै यार्सा टिप्न जाने भएकाले अभिभावकहरुको सहमतीमा नै विद्यालय बन्द गर्ने गरिएको छ ।’ एकै पटक श्रावणमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्नाको काम पनि त्यति वेला नै गर्ने गरेको उनको भनाइ छ ।
दुर्गम हिमाली क्षेत्रका विद्यालयहरु वर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउँदमा मंसिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन् । यसैगरी दशंै तिहार र अन्य विदाहरुमा समेत विद्यालय बन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महिना पनि राम्रो संग पढाई नहुने गरेको विद्यार्थीहरु बताउँछन् । नियमित पढाइ नहुदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाई उपलब्धी न्यून हुने गरेको छ ।
समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा बढि उचाइमा पाइने यार्सागुम्बा टिप्नको लागी अहिले यस जिल्लामा छिमेकि जिल्ला बाजुरा, बैतडि, हुम्ला, दार्चुला र अछामबाट मानिसहरु ओइरिने क्रम सुरु भैसकेको छ भने यार्सागुम्बा टिप्न र ब्यापार गर्नको लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, भारत र चिनको तिब्बतबाट एक सिजनमा बिसदेखि तिस चालीस हजार मान्छेहरु यहाँ आउने गरेका छन् । धेरै उचाइमा गएर काम गर्नु पर्ने र पाल मुनिको बास हुने हुने हुनाले अधिकांश बालबालिका र बृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानै समेत गुमाउने गरेका छन् ।



















