एकताको संघारमा फोरम र नयाँशक्ति–होला त एकता ?

काठमाडौं ।  सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ । यी दुई पार्टी स्थानीय तहको निर्वाचनमा समेत सहकार्य गरेर गएका थिए । 

यसअघि पनि फोरम र नयाँ शक्तिबीचको एकताको हल्ला चलेको थियो । अन्तत यी दुईबीच एकता हुन भने सकेको थिएन । त्यो समयमा बरीयता क्रम नमिलेका कारण एकता रोकिएको बताइएको थियो । फेरि एकपटक यी दुई दलबीच एकता प्रक्रिया अघि बढेको छ । यस पटक भने नेताहरुको बरीयता मिलाइसकिएको स्रोतले बतायो ।

उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गरेका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्वको गरेको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको  फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए । उनले भने, एकताको सम्भावना बढेर आएको छ । तर, अबसम्म औपचारिक घोषणा हुँदैन तबसम्म मैले धेरै भन्न मिल्दैन ।’

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।

एकता प्रक्रिया चलिरहेका कारण यहि प्रक्रिया अघि बढे बैशाख २८, २९ र ३० गते जनकपुरमा हुने भनिएको संघीय समाजवादी फोरमको अधिवेशन भने स्थगित हुने स्रोतले बतायो ।

फोरम निकट स्रोतका अनुसार दुई पार्टी विचको एकता दुई अध्यक्षसहितको मोडालिटीमा हुने बताइएको छ । जस अनुसार पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई पहिलो बरीयतामा र कार्यवाहक अध्यक्षमा उपेन्द्र यादव हुने गरि समझदारी भएको बुझिएको छ । अशोक राई तेस्रो नेताका रुपमा रहनेगरी पार्टी एकता हुने स्रोतले बतायो ।  

२१ गते बस्ने फोरम नेपालको केन्द्रीय समिति बैठकमा एकता प्रक्रियामा आउनसक्ने बाधा, अड्काउका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नयाँ शक्ति पार्टीले पनि एकता विषयमा आन्तरिक गृहकार्य तीब्र पारेको छ । हिजो केन्द्रीय समितिको बैठक बसेर यो विषयमा छलफल भएको स्रोतको दावी छ ।

फोरम र नयाँ शक्ति नेपाल एक भएपछि संघीय संसदमा तेस्रो ठूलो दल हुनेछ । प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिको एक सिट छ ।