चैतको सुरुवात भए पनि बर्खायामलाई बिर्साउने गरी आकाशबाट पानी दर्किराखेको थियो । भलाकुसारीका लागि मैले शताब्दी पुरुष सत्यमोहन जोशीसँग साँझपखको समय मिलाएको थिएँ । बेमौसममा परेको पानीका कारण केही समय ढिलो हुने देखेपछि मैले टेलिफोनमा घण्टी बजाएँ । दुई घण्टीमै फोन उठ्यो । उनले सोधे, ‘पानी परिराखेको छ, के गर्नुहुन्छ ?’ मैले सजिलै भनेँ, ‘अब म दश मिनेटभित्र आइपुग्छु ।’
पाटन दरबार क्षेत्र छिचोल्दै घरमा पुग्दा छाता ओढेर सत्यमोहन आँगनमा उभिइरहेका थिए । विषयमा केन्द्रित उनीसँगको यो मेरो पहिलो भेट थियो । भव्य पुस्तकालय जस्तो कोठाको एक कुड्को सोफामा म बसेँ । अर्कोमा उनी । सोफाको अघिल्तिर टेबुल थियो । टेबुलमा किताबका चाङ । किताबको चाडसँगै पावरदार चश्मा पनि । तक्मा, पुरस्कार, सम्मानपत्र लगायतले कोठा भरिभराउ । कोठाको भित्तामा ठड्याएको ¥याकमा किताब टन्न थिए । मौनतालाई तोड्दै भनँे, ‘आराम हुनुहुन्छ ?’
दुई महिनापछि एक सय वर्षमा प्रवेश गर्दै गरेका वाङमय शताब्दी पुरुष जोशीले भने, ‘बुढ्यौलीले छोयो ।’
उनले यो वाक्यको पुष्टि गरे । ‘पहिले जस्तो चल्तापूर्जा भएर हिँड्न सक्दिनँ, आँखा पनि कमजोर भएको अनुभव भएको छ ।’ अनुमति मागेर उनलाई एक्कैछिन रोकेँ । र, सोधेँ, तपाईंको स्वास्थ्य कस्तो छ ?
अचेल पत्रिका मसिना अक्षर ठम्याउन गाह्रो भएको छ । पत्रिकाको हेडलाइन पढ्न समस्या छैन । समाचार पढ्न चश्माले पनि भ्याउन छोड्यो । पढ्नै पर्ने भए आइग्लासको सहयोग लिन्छन् । त्यसो त उनलाई समाचारका सानातिना विषयले छँुदैन ।
सत्यमोहन जोशीलाई भेट्नेहरू, उनीसँग बात मार्नेहरू भन्छन्– उनी इन्साइक्लोपिडिया हुन् । हुन पनि हो, उनी धेरै वर्ष पहिलाका कुरा सम्झन्छन् । फेहरिस्त लगाउन सक्छन् । तर, आफ्नो सम्झना शक्तिबारे उनको आफ्नै मूल्यांकन यस्तो छ, ‘मेमोरी कम हुँदै गयो ।’ मैले अरूको पनि सहायता लिएँ प्रश्नका लागि । ‘इन्साइक्लोपेडिया भन्छन् नि तपाईंलाई धेरैले ।’ यो प्रश्नको उत्तर यसरी दिए, ‘अरूले त भन्छन् तर मलाई मेमोरी कम भएको अनुभव भएको छ ।’ दाँत केही झरे । तर, नक्कली हालेको छैन । खानेकुरा चपाउन समस्या छैन । मधुमेह, उच्च रक्तचापजस्ता रोगको औषधि अहिलेसम्म खानुपरेको छैन ।
यसको मुख्य कारण तनावरहित जीवन हो भन्छन् । सकेसम्म उनी तनाव हुने गरी काम गर्दैनन् । तनाव आइलागे, त्यसको व्यवस्थापन गर्छन् चिन्ता छोडेर । चिन्तन गर्नु दीघार्यु र राम्रो स्वास्थ्यको आधार हो तर चिन्ता रोगको घर हो भन्छन् सत्यमोहन जोशी । त्यति मात्रै होइन, जीवनरूपी रथलाई यो उमेरसम्म पनि ठीक लिगमा राम्रोसँग हिँडाउन सक्नु सक्रियता हो ।
कार्यक्रम आयोजकले बोलाउँदा उनी त्यहाँ पुग्छन् । उनको शहरी यात्रा ललितपुर महानगरपालिकाले दिएको मोटरले सहज बनाएको छ । कुनै बेला आयोजक घरमै आउँछन् लिन । त्यो बेलामा आफ्नो मोटर चलाउन परेन । उनी मोटर सावधानीपूर्वक प्रयोग गर्छन्, आवश्यक पर्दा मात्रै ।
घरमै बसिराख्न पनि उनलाई मन लाग्दैन । त्यतिकै बसिराखे शरीर न हो, फलाममा जस्तै खिया लाग्नसक्छ । त्यसैले उनी हिँड्डुल गरिराख्छन् । कुराकानी अवधिभर सत्यमोहनले पहिलाजस्तो आफू चल्तापूर्जा नरहेको भन्न बिर्सेनन् । शरीरमा स्फूर्ति ल्याउन उनी कार्यक्रमहरूमा पुगिरहन्छन् ।
भगटेको भकुण्डो
पाटनको बखुम्बहालमा जन्मिएका सत्यमोहनको बाल्यकाल त्यहीँ बित्यो । अहिलेका केटाकेटीलाई जस्तो भन्ने बित्तिकै खेलौना कहाँ पाउनु ! भगटेको भकुण्डो खेल्थे । तेलकासा, लठ्ठीकासा धेरै खेले उनले । पाँच वर्षको उमेर, श्रीपञ्चमीको दिन थियो । उनलाई बाले पण्डितजी कहाँ लगेर ‘ॐ नमः वागेश्वराय’ लेख्न लगाए । केही दिनपछि भाषा पाठशालामा भर्ना गरिदिए । त्यहाँ प¥यो अप्ठेरो । पढाउने मास्टर नेपाली बोल्थे । रैथाने नेवारका छोरा सत्यमोहन नेपाली साह्रै कम बुझ्थे । बोल्न त जान्दै नजान्ने ।
भाषा नबुझेपछि पढाइमा उनको रस बसेन । चार पाँच दिन उनी मुश्किलले विद्यालयमा अडे । सत्यमोहनका बाबु छोरालाई पढाउने विद्यालयको खोजीमा थिए । घरमै अंग्रेजी पढाए । एबीसीडी अलि अलि जानेपछि स्कुलमा भर्ना गरिदिए । विद्यालयको वातावरण पनि उनी अनुकुल भएन । शिक्षकहरू उनलाई पाठ सोध्थे । सोधेका सबै प्रश्नको उत्तर दिन सक्दैन थिए सत्यमोहन । पिटाइ खान कति हात थाप्नु ¤ बरु स्कुल नै जान छोडिदिए ।
सत्यमोहनका बाबु मोहनशमशेर कहाँ जागिरे थिए । महाराजगञ्जमा बस्ने मोहन शमशेरका दरबारको जागिर पाटनबाट धान्न गाह्रो थियो, दुरीका हिसाबले उनका बाबुलाई । त्यसैले उनी महाराजगञ्जमै डेरा लिएर बस्न थाले । डेरामा बाबुका साथी थिए, सत्यमोहन । भात पकाउन सहयोग गर्थे । पानी बोकेर ल्याउँथे । सरसफाइ गर्थे । र, पढ्न दरबार स्कुल पुग्थे । आउन–जान एक–एक घण्टा । मामाघर काठमाडौं थियो । सत्यमोहन कहिले काही मामाघर पनि जान्थे ।
सत्य मोहनको पढाइ मध्यमस्तरको थियो । पढाइ उत्कृष्ट बनाउन अहिले जस्तो ट्युसन पढाउने चलन थिएन । सामान्य विद्यार्थी भएरै उनले एसएलसी परीक्षा पास गरे ।
महाराजगञ्ज बस्दाको त्यो घटना उनको मस्तिष्कमा ताजै छ । त्यो दिन अर्थात १९९० माघ २ गते घरको पेटीमा बसिराखेका थिए । सँगै साथी पनि थिए । घर अघिल्तिर बकैनाको रुख थियो । भूकम्पले रुख हल्लिएको देखेर सत्यमोहन साथीसँगै खुब हाँसेका थिए । हाँस्नुको कारण थियो, रुख नाच्यो भनेर । भूकम्प भनेको के थाहा र त्यतिबेला ¤
भूकम्प जाँदा उनकी आमा पाटनमै थिइन् । केही दिनकी सुत्केरी । भूकम्पलगत्तै बाबु छोरा पाटन आए । बाले त उनीकी आमाको आश मारेका थिए । ‘खै तिम्री आमा त ¤’ भन्दै बाले आमाको आश मारेको उनी सम्झन्छन् । भाग्य बलियो रहेछ सबैको । दुई तला घर भत्किँदा पनि सत्यमोहनकी आमा त उनीहरूलाई पर्खिरहेकी रहिछन् ।
साहित्यमा रस
क्याम्पसको पढाइ सत्यमोहन जोशीले त्रिचन्द्र कलेजबाट सुरु गरे । संस्कृत विषय लिएर पढेका उनलाई कविताका फरक फरक छन्दले मन छोयो । साहित्यका पुस्तकले उनी लठ्ठ भए । साहित्यमा उनले जीवन भेटे । खुशी भेटे । त्रिचन्द्र क्याम्पसको साइन्स ब्लकमा भाषा अनुवाद परिषद भर्खर भर्खर खुलेको थियो त्यतिखेर । कक्षा खाली हुनेबित्तिकै किताब पढ्न उनी त्यहाँ पुगिहाल्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सत्यमोहनले त्यही चिनेका हुन् । साहित्यकारसँगको संगत र साहित्यप्रतिको अनुरागका कारण उनलाई नेपालको कला, साहित्य र संस्कृतिले मोहित बनायो । नेपालको कला, संस्कृतिको, संरक्षण र खोजीमा उनको रुचि बढ्दै गयो ।
ढुंगा खोज्दा देवता मिलेझैँ भयो, सत्यमोहनका लागि जिल्ला पुगेर जिल्लावासीको सामाजिक र आर्थिक अवस्थाबारे अध्ययन गर्ने अवसर । तनहुँ र लम्जुङमा खटिए उनीले त्यो समयलाई झ्याउरे गीत र लोक लयका गीतहरूको अध्ययन अवसरका रूपमा समेत लिए । भाकाहरू संकलन गरे । आज–भोलि भन्दा भन्दै त्यसले पुस्तकको रूप लियो । त्यो पुस्तकको २०१४ सालमा पहिलो पटक मदन पुरस्कार पायो ।
‘के खायो होला के लायो होला वनको चरीले’ कुराकानीकै क्रममा उनले लोकगीतको यो अंश सुनाए । सामान्यजस्तो लागे पनि यसले व्यक्त गर्ने भाव गहकिलो छ । लोकभाकाले नेपालको वास्तविकता चरित्रार्थ गरेको बताउँछन् तीन पटक मदन पुरस्कार पाएका जोशी । साहित्यलाई उनी भावना व्यक्त गर्ने तरिका हो भन्छन् । साहित्यले मानिसलाई सुखको अनुभूति गराउँछ । जीवनमा रस भरिदिने पनि साहित्य नै हो । साहित्य नहुने हो भने जीवन सुख्खा हुने उनी बताउँछन् ।
एक शताब्दी पुग्नै लागेका मान्छेसँग जीवन र जगतका विषयमा केन्द्रित थियो मेरो कुराकानी । सोधेँ– जीवन के हो ?
उनको उत्तरले आफैँभित्र सन्नाटा छाएको अनुभव गरेँ । अधिकांश अन्तर्वाताहरूमा मैले जीवनको परिभाषा सतहीमात्रै पाएकी रहेछु भन्ने लाग्यो । सत्यमोहनले भने, ‘जीवन बोध हो, आफूलाई नै बुझ्नु हो, अनुभव गर्नु हो ।’ उनले जीवन भनेको अमूर्त भएको बताए । यो परिभाषा जीवनको उत्तराद्र्धमा प्राप्त हुने उनले स्पष्ट पारे । उनको पछिल्लो पुष्ट्याइँले म यो निक्र्यौलमा पुगेँ– परिभाषा उमेर, ज्ञान स्तर र परिस्थिति अनुसार फरक फरक हँुदो रहेछ ।
अरनिकोको चिनारी
सत्यमोहन चीनको पेकिङ रेडियोमा भाषा प्रशिक्षक भएर गएका थिए । त्यतिखेर उनले अरनिको बारेमा अध्ययन गरे, यसलाई उनले आफ्नो महŒवपूर्ण उपलब्धि मानेका छन् । अरनिकोलाई नेपाली भनेर चिनाउने पहिलो व्यक्ति हुन् संस्कृतिविद् हुन्, सत्यमोहन जोशी । त्यहाँको बसाइले सत्यमोहनलाई नेपाल र चीनको कला र र संस्कृतिको अध्ययन गर्ने राम्रो अवसर मिल्यो ।
दाम्पत्यको आठ दशक
ससुराली र घरबीचको दुरी मुश्किलले पाँच मिनेट । तर सत्यमोहनले बिहे गर्ने केटीलाई बिहे अघि देखेका थिएनन् । सत्यमोहनकी आमा दिनको तीनपटक कृष्ण मन्दिर पुग्थिन् । सत्यमोहन १९ वर्षका थिए । आमाले आफ्ना दौतरीहरूसँग छोराको बिहे गर्ने कुरा गरिछन् । कृष्ण मन्दिर पछिल्तिरको घरकी एउटी केटीलाई बुहारी बनाउन सल्लाह दिए दौतरीले सत्यमोहनकी आमालाई । सत्यमोहनकी हुनेवाला पत्नी १४ वर्षकी थिइन् । बिहेको कुरा अघि बढ्यो । उनले राधादेवीलाई पत्नीको रूपमा भिœयाए ।
उनीहरूका ६ जना छोराछोरीमध्ये पाँच जना विश्वका फरक देशमा छन् । जेठो छोरा नेपालमै बस्छन् । राधादेवीले सुगर उच्च रक्तचापको औषधि खान थालेको धेरै वर्ष भइसक्यो । हिँड्डुल गर्न होइन, उठबस गर्न गाह्रो भएको छ । ‘शरीर मोटो भएकाले ह्वीलचियरमा बस्न पनि गाह्रो भयो’ पाँच वर्ष कान्छी पत्नीको स्वास्थ्य अवस्था बताउँदै थिए, सत्यमोहन । उमेरले ९४ पुगेकी राधादेवीको पनि स्मरणशक्ति, श्रवण क्षमता, दृश्य शक्ति सामान्य नै छ । दुबै जनाको ‘फुड ह्याबिट’ उस्तै छ । साधारण खानेकुरा मनपराउँछन् उनी । दातभात तरकारी, एक दुई टुक्रा मासु भए पुग्छ । निद्रा मजाले पर्छ । कसरी निदाउने होला भन्दै चिन्तित हुनु पर्दैन । अहिले बेलुका पढ्न छोडे । धेरै ढिला भए राति साढे १० सम्म बस्छन् । बिहान साढे पाँचदेखि ६ बजेभित्र उठिसक्छन् ।



















