फ्राइडे रिलिज : हलमा कागजपत्र र प्रेमलीला

काठमाडौं । आज शुक्रबारबाट नयाँ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘कागजपत्र’ र ‘प्रेमलीला’ चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । कागजपत्र मिलाएर अष्ट्रेलिया जान खोज्ने युवाहरूको कथा ‘कागजपत्र’मा हेर्न पाइनेछभने ‘प्रेमलीला’ प्रेमकथामा निर्माण भएको चलचित्र हो ।

नायक नाजिर हुसैन र अभिनेत्री शिल्पा मास्के ‘कागजपत्र’का मुख्य कलाकार हुन् । उनीहरूका अलवा सरिता गिरी, लोकेन्द्र लेखक र भोलाराज सापकोटाको पनि अभिनय छ । चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको छ ।

यसअघि चलचित्र ‘झुम्की’ निर्देशन गरेका अपिल विष्टले ‘कागजपत्र’ निर्देशन गरेका हुन् । चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माताको रूपमा छन् भने सहनिर्माताको रूपमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ छन् । वसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तै बिहीबार साँझ ‘कागजपत्र’को प्रिमियर पनि गरियो । केही चलचित्रकर्मी तथा पत्रकार माँझ प्रिमियर गरिएको यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारहरूले नेपाली समाजमा भइरहेको घटनालाई चलचित्रमा देखाइएको हुँदा चलचित्र मन परेको बताएका थिए । चलचित्र निर्माण युनिट भने चलचित्र दर्शकलाई मनपर्नेमा आशावादी देखिएको छ । यो चलचित्र दुईघण्टा अवधिको छ ।

यस्तैसँगै प्रदर्शनमा आएको अर्को दुईघण्टा अवधि रहेको चलचित्र ‘प्रेमलीला’मा बलिउडका कलाकारको पनि अभिनय देख्न सकिनेछ । दीपशिखा खड्काको लगानी तथा अभिनय रहेको सो चलचित्रमा बलिउडका मोडल अलि खानले डेब्यु गरेका छन् । दीपशिखा र अलिको रोमान्स चलचित्रमा देख्न पाइनेछ । निर्मात्री दीपशिखाका अनुसार अलिले चलचित्रमा हिन्दी भाषामै बोल्नेछन् ।

चलचित्रमा खानले हिन्दी मै बोल्ने बताइन् । चलचित्रको कथा अनुसार खान भारतबाट नेपाल आउनेछन् र चलचित्रमा पूरा समय हिन्दीमै बोल्नेछन् । जनक पाण्डेले निर्देशन गरेको सो चलचित्रमा नायिका दीपशिखाले कपाल मुण्डन गरेकी छिन् । कथा अनुसार उनले आफ्नो कपाल मुण्डन गरेको जानकारी पनि गराएकी थिइन् ।

चलचित्रमा पवन गौतमको छायांकन, संगीतकारहरू महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीतमा गायक राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ भने चलचित्रमा नायिका दीपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाहको मुख्य अभिनय छ । चलचित्रमा प्रहृलाद खरेल मुख्य सहायक निर्देशनमा छन् ।

यस्तै दुई नेपालीसँगै दुई बलिउड चलचित्र प्रदर्शनमा आएका छन् । बिहीबारदेखि नै प्रदर्शनमा आएका ‘केसरी’ र ‘मर्दको दर्द नही होता’ले पनि नेपाली दर्शक कमाउने देखिएको छ । यस्तै गतसाता प्रदर्शनमा आएका अन्य बलिउड र नेपाली चलचित्र पनि प्रदर्शनरत छन् ।