काठमाडौ । आज अन्तर्राष्ट्रिय श्रमिक महिलादिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।
दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुष बीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेकपाकी सांसद शान्ताचौधरीले अधिकार प्राप्तीकाहिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धि स्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नु पर्नेमा उनले जोड दिइन् ।
निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोप प्रति चौधरीले गम्भीर आपत्ती जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावीगर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुईतिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।
निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् ।
“यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयामा मात्रै बोल्ने ?” उनले प्रश्न गरिन् ।
कार्यक्रममा बोल्दै नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उमा रेग्मीले सरकारले निर्मलाको बलात्कारीलाई लुकाएर राखेको आरोप लगाएकी थिइन् ।



















