काठमाडौ । चालु आर्थिक वर्ष २०७५÷७६ पुँजीगत खर्च ८४.५ प्रतिशतमात्र खर्च हुने भएको छ । गत
साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँमात्र खर्च भएको भएको छ, जुन कुल बजेटको
२८.६ प्रतिशत हो । अर्थ मन्त्रालयले बजेटको अद्र्धवार्षिक समीक्षा गर्दै हालसम्म लक्ष्यअनुरूप पुँजीगत खर्च
नभएकाले चालु आवको अन्त्यसम्ममा ८४.५ प्रतिशतमात्र खर्च हुनेअनुमान गरेको हो ।
मन्त्रालयका अनुसार वर्षको अन्त्यसम्म चालुतर्फ सात खर्ब ९८ अर्ब ४४ करोड अर्थात् ९४.४ प्रतिशत,
पुँजीगततर्फ दुई खर्ब ६५ अर्ब २६ करोड अर्थात् ८४.५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ३५ अर्ब
४४ करोड अर्थात् ८७ प्रतिशत खर्च हुनेअनुमान छ । सरकारले चालु आवका लागि पुँजीगत तर्फ ३ खर्ब
९६ अर्ब ५७ करोड विनियोजन गरेको थियो । जसमध्ये २ खर्ब ६५ अर्ब रुपैयाँमामात्र खर्च हुनेअनुमान गरेको छ ।
कुल बजेट खर्च पनि ९१ प्रतिशतसम्म पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । चालु आबका लागि कुल १३ खर्ब
१५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा ११ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको
अनुमान छ । चालु आवमा ९ खर्ब ४५ अर्ब राजस्व लक्ष्य रहेको ९ खर्ब १७ अर्बमात्र उठ्ने अर्थको प्रक्षेपण
छ, जुन लक्ष्यको तुलनामा ९७ प्रतिशतमात्र हो ।
विभिन्न विकास आयोजना कार्यान्वयनका लागि १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता
प्राप्त भएको र वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई सोधभर्ना प्राप्त गर्नुपर्ने रकम ४८ अर्ब
५९ करोड रहेकोमा ३६ अर्ब १४ करोड शोधभर्ना प्राप्त भइसकेको पनि उनले जानकारी दिए । राष्ट्रिय
गौरवका आयोजनामा २२ अर्ब ८ करोड अर्थात् २४.९ प्रतिशत खर्च भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय
विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तरदक्षिण लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति
उत्साहजनक रहेको छ ।
चालु आवको अन्त्यसम्ममा परिचालन हुने कुल राजस्व ९ खर्ब १९ अर्ब १९ करोडमध्ये संघीय सर्वसञ्चित
कोषमा ८ खर्ब ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुने अनुमान छ भने वैदेशिक अनुदानतर्फ ३९ अर्ब ९८
करोड अर्थात ६८ प्रतिशत र वैदेशिक ऋणतर्फ १ खर्ब ६३ अर्ब अर्थात ६४.४ प्रतिशत परिचालन हुने
अनुमान छ । प्रदेशलाई वित्तीय हस्तान्तरणअन्तर्गत ३७ अर्ब २९ करोड निकासा भएकोमा ११ अर्ब ४६
करोड अर्थात ३०.७ प्रतिशत खर्च भएको छ भने स्थानीय तहलाई ८१ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण
भएको छ ।
कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु आयात ३०.५ प्रतिशतले वृद्धि भएको छ ।
कुल व्यापारघाटा ३२.१ प्रतिशतले वृद्धि भई छ खर्ब ७८ अर्ब ५३ करोड रहेको छ भने शोधान्तर स्थिति ६३
अर्ब ६८ करोड घाटामा छ ।
ठूला आयोजना कार्यान्वयनमा देखिएको समस्या र काम भइसकेको आयोजनामा भुक्तानीमा ढिलाई भएका
कारण पनि पुँजीगत खर्च नबढेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । विभिन्न नीति नियमको तर्जुमा
तथा केही ठूला आयोजना सहजरूपमा चल्न नसक्दा पुँजीगत खर्च लक्ष्य अनुरूप नहुने देखिएको र चालु
खर्चमा पनि गत आबको तुलनामा संकुचन आएको उनले बताए । चालु आबमा वैदेशिक सहायता परिचालन
नहुँदा पनि खर्च बढ्न नसकेको उनको भनाइ थियो ।
तर उनले संघ, प्रदेश र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलापले उच्च आर्थिक वृद्धिका लागि
आधारशिला निर्माण भइरहेका जिकिर गरेका छन् । कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता
उपयोगमा भएको विस्तार, पर्यटकको आगमन संख्यामा भएको वृद्धि, ऊर्जा आपूर्तिमा भएको सुधार, विप्रेषण
आप्रवाहमा भएको वृद्धि, राजस्व असुलीमा भएको वृद्धि र पुँजीगत खर्चमा भएको वृद्धि जस्ता अर्थतन्त्रका
सूचकहरू सन्तोषजनक देखिएको उनले बताए ।


















