ग्यासमा सहमति

काठमाडौं । ग्यासमा कमिसन वृद्धिलगायत माग राखी आन्दोलनमा उत्रिएका ग्यास उद्योगी र सरकारबीच सहमति भएको छ । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच गत मंगलबार तीनबुँदे सहमति भएको हो । निगम सञ्चालक समितिद्वारा गत फागुन १७ गते गठित समितिले उद्योगी, व्यवसायीका माग सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने र उद्योगी, व्यवसायीले सहमति भएकै दिनदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवसमेतको उपस्थितिमा उक्त सहमतिपत्रमा हस्ताक्षर भएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र संघका अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् ।