बानेश्वरमा आन्दोलनरत राहत शिक्षक माथि अश्रुग्यास र पानीको फोहोरा

काठमाडौं । पेशागत स्थायीत्वको माग गर्दै आन्दोलनरत राहत र बालविकास शिक्षकहरु माथि नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ ।

निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । जसका कारण भाग दौड मच्चिदा केही ब्यक्ति घाइते भएका छन् ।

आइतबार पनि देशैभरका विसौ हजार राहत शिक्षक राजधानीमा एकिकृत भई आन्दोलन गरेका थिए । र आइतबार पनि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

आज प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यास र अन्धाधुन्न पानीको फोहोराले हान्दा धेरै शिक्षक घाइते भएको राहत शिक्षक समिति झापाका अध्यक्ष रविन मैनालीले बताए । उनले भने, ‘ शिक्षकको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले दमन गरेको छ, जसका कारण धेरै साथीहरु घाइते हुनु भएको छ ।’

अश्रुग्यास तथा पानीको फोहोराका कारण केही शिक्षक बेहोस समेत भएका छन् ।

अध्यक्ष मैनालीले सरकारसँग भएको पटक–पटकको लिखित सम्झौता कार्यन्वयन नभएका कारण देशैभरका राहत शिक्षक आन्दोलनमा उत्रिनु परेको बताए । सरकारले राहत तथा बालबालिका शिक्षकहरुको मागलाई बेवास्था गरेको उनको आरोप थियो ।