पोष्टरमा प्रदीप र जसिताको प्रेम

युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’को पोष्टर सार्वजनिक गरिएको छ । आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक पोष्टरमा प्रदीप र जसिताको प्रेम देखिन्छ ।

रिलिज गरिएको पोष्टरमध्ये दुई पोष्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङमार्फत एउटा पोष्टरमा दर्शाइएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनी पिङमा रमाएकी छन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गिटारको साथ प्रस्तुत गरिएको छ । सबै पोष्टरको डिजाइन आनन्द महर्जनले गरेका हुन् ।

लभ स्टेशनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिँदैन…को एक सुन्दर दृष्यलाई पनि दुई पोष्टरमा समेटिएको छ । जसमा समुन्द्र किनारमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमाञ्चकारी भावलाई समेटिएको छ । यस्तै बाँकी दुई पोष्टरमा अभिनेता प्रदीप र अभिनेत्री जसितालाई मीठो अँकमालमा देखाइएको छ ।

यो पोष्टरले यी दुईको प्रेम सम्बन्धलाई अझ प्रगाढ देखाएको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रस्तुत कर्ता गोविन्द शाही हुन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रलाई दर्शकले मन पराउनेमा नायक प्रदीप आशावादी देखिएका छन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ ।