साना किसान सम्मेलन सुरु : खाद्यन्नमा आत्मनिर्भरतामा जोड

काठमाडौं । साना किसानको समृद्धिः कृषिमा रूपान्तरण र उद्यमशीलता विकास भन्ने नाराका साथ दुई दिने साना किसान सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भनिए पनि राष्ट्रिय शोक परेकाले उनको उपस्थिति हुन सकेन ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सम्मेलनमा कृषिको दिगो विकासका लागि वित्तीय संस्थाको लगानी प्रमुख मुद्दा बनाउनुपर्ने बताए । मुलुकमा ३४ हजार सहकारी दर्ता भएकामा करिब १० हजार विषयगत कृषि सहकारी संस्था भए पनि कृषि क्षेत्रमा परनिभरता घट्न नसकेको उनले बताए । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिमा ठूला लगानी आकर्षित नभएसम्म आयात प्रतिस्थापन हुननसक्ने बताए ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेमबहादुर पाठकले अन्तराष्ट्रियस्तरमा भइरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीका साथै नेपालमा भइरहेको कृषि क्षेत्रको खोज आनुसन्धान विज्ञको विचार आदान प्रदानका लागि सम्मेलन आयोजना गरिएको बताए । आगामी १० वर्षमा नेपाललाई प्राथमिक रूपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्ने दाबी गर्दै उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिबी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्नसक्ने परिवारको विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले सरकारले अघि बढाएको समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सहयोग गर्दै धेरैभन्दा धेरै युवा तथा महिलालाई कृषिमा संलग्न गराइने पनि बताए । २०७१ सालमा आयोजना गरिएको सम्मेलनकै प्रभावका कारण देशभर साना किसानका संस्था र सदस्य बढेको उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको बताए ।

२०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ७ सय साना किसान कृषि सहकारी संस्था स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको पनि उनले जानकारी गराए । सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तर्राष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका विज्ञ गरी कुल १२ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलनमा बिहीबार १३ वटा कार्यपत्र प्रस्तुत भएका थिए भने शुक्रबार समापन हुने कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहान दोस्रो दिनको सत्रको सुरुवात गर्ने र समापन कृषिमन्त्री चक्रपाणि खनालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

साना किसानमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रूपान्तरण गर्ने अभियान नै साना किसान विकास कार्यक्रमको कार्यदिशा रहेको सन्देश प्रवाहमा सघाउ पु¥याउने सम्मेलनको उद्देश्य रहेको साना किसान सम्मेलनका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताएका छन् । गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरी अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र प्रस्तुत हुने र सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न हुने उनले बताए ।

सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पुँजी विकास कोष (युएनसिडिएफ), कृषि विकास बैंक सहआयोजकका रूपमा रहेका छन् ।

कृषिप्रधान मुलुकमा पाँच महिनामै झण्डै १४ अर्बको चामल आयात भएको छ । त्यस्तै पाँच अर्बभन्दा बढीको मकै, सात अर्बभन्दा बढीको भटमास, ४ अर्बको आलु र दुर्ई अर्बभन्दा बढीको स्याउ आयात भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को पाँच महिनामा उक्त परिमाण बराबरको कृषिजन्य उत्पादन आयात भएको हो । अघिल्लो वर्ष अर्थात् २०७४÷७५ मा २९ अर्ब ५३ करोड बराबरको चामल आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ ७४मा २३ अर्ब ८७ करोडको आयात भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

चालु आवको पाँच महिना ५ अर्ब १९ करोडको मकै आयात भएकोमा अघिल्लो आव अर्थात् २०७४÷७५ मा १२ अर्ब ५५ करोडको मकै आयात भएको थियो भने २०७३÷७४मा १० अर्ब ६३ करोडको मकै आयात भएको थियो । त्यस्तै चालु आवको पाँच महिनामा ७ अर्व ५ करोडको भटमास आयात भएकोमा अघिल्लो आव २०७४÷७५ मा १८ अर्ब १५ करोडको आयात भएको थियो भने आव २०७३÷७४ मा १६ अर्ब ९७ करोडको भटमास तथा भटमासको तेल आयात भएको थियो ।

चालु आवको पाँच महिनामा ३ अर्ब ९९ करोडको आलु आयात भएकोमा अघिल्लो आव २०७४÷७५ मा ६ अर्ब ३५ करोडको र आव २०७३÷७४मा ५ अर्ब ५२ करोडको आयात भएको थियो । त्यसैगरी चालु आवको पाँच महिनामा २ अर्ब ५६ करोडको स्याउ आयात भएकोमा अघिल्लो आव २०७४÷७५ मा ५ अर्ब ६३ करोडको र २०७३÷७४ मा ४ अर्ब ८७ करोडको स्याउ आयात भएको थियो ।