काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महŒवपूर्ण क्षेत्र भएको बताएका छन् । उनले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सरकार सकारात्मक रहेको भन्दै नेपालमा नाटकको सम्भावना धेरै रहेको उल्लेख गरे । सोमबार राजधानीमा अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नाट्यले समाजको वर्तमान र भविष्य पनि देखाउने बताए । ‘नाट्य विधा समाजको ऐना पनि हो, टर्चलाइट पनि हो,’ उनले भने, ‘ऐनाले वर्तमान देखाउँछ । टर्च लाइटले भविष्य ।’
उनले नेपालमा नाटकको भविष्य आफूले राम्रो देखेको बताए । ‘चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस्,’ उनले भने, ‘यो विधा धेरैको रुचिको विषय भएको छ ।’ नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेट विनियोजन गरेको उनले बताए ।
कला, साहित्य र संस्कृतिको विकास नभई देशको विकास हुन नसक्ने उनको भनाइ थियो । देशको विकासका लागि गरिने अथक प्रयास नै नाटक रहेको भन्दै उनले फुर्सद भएका व्यक्तिले गर्ने चिजका रूपमा ‘नाटक’लाई लिन नहुने बताए । अनामनगरस्थित मण्डला नाटक थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीसहित १२ जना स्रष्टालाई सम्मान गरे । जोशीले लेखेको सुनकेसरी पुस्तकको पनि प्रधानमन्त्री ओलीले विमोचन गरे ।



















