तिमीले पर्खनु भन्न छोडेनौ
मैले पर्खन छोडिनँ
आश्वासनका पहाड चुल्यायौ
म चुलिँदै गएँ
अनगन्ती, अनमोल भावना साट्न
पोख्त रहेछौ तिमी,
कति गुलिया शब्द
यसै फ्याँकेका रहेछौ
यस्तो कसरी सोचौ कि म
कल्पनामा नआउने कुरा
हुन्छन्, हुँदारहेछन् भनेर
यति अग्लो पहाड
यत्तिकै चुल्याउँछौ भनेर
सपनाको सागर बनाउने
तिम्रो क्षमतालाई सलाम
र, डुब्दै जाँदा फर्कन नसकिने
कस्तो अचम्म
न साँघु न ढुंगा
तिम्रो सपनाको महासागरलाई
फेरि पनि सलाम ।
नजानु भन्यौ पर्खिबसेँ तर,
तिमी त फर्किएर आएनौ
के थाहा
नसोचेको कुरा पनि त हुँदोरहेछ
साँच्चिकै तिमी त आउँदै आएनौ
तर, पर्खनू भनेथ्यौ म पर्खिरहेँ ।
के थाहा
मिठाइभित्र विष हुन्छ भनेर
मुस्कानमा रिस हुन्छ भनेर
तर, तिम्रो भाषा फरक रहेछ
मैले कसरी बुझौँ ?
त्यसैले त आजसम्म पर्खिबसेँ
आउँछौ कि भनेर ।


















