कविता : म पर्खिरहेँ

तिमीले पर्खनु भन्न छोडेनौ

मैले पर्खन छोडिनँ

आश्वासनका पहाड चुल्यायौ

म चुलिँदै गएँ

अनगन्ती, अनमोल भावना साट्न

पोख्त रहेछौ तिमी,

कति गुलिया शब्द

यसै फ्याँकेका रहेछौ

यस्तो कसरी सोचौ कि म

कल्पनामा नआउने कुरा

हुन्छन्, हुँदारहेछन् भनेर

यति अग्लो पहाड

यत्तिकै चुल्याउँछौ भनेर

सपनाको सागर बनाउने

तिम्रो क्षमतालाई सलाम

र, डुब्दै जाँदा फर्कन नसकिने

कस्तो अचम्म

न साँघु न ढुंगा

तिम्रो सपनाको महासागरलाई

फेरि पनि सलाम ।

नजानु भन्यौ पर्खिबसेँ तर,

तिमी त फर्किएर आएनौ

के थाहा

नसोचेको कुरा पनि त हुँदोरहेछ

साँच्चिकै तिमी त आउँदै आएनौ

तर, पर्खनू भनेथ्यौ म पर्खिरहेँ ।

के थाहा

मिठाइभित्र विष हुन्छ भनेर

मुस्कानमा रिस हुन्छ भनेर

तर, तिम्रो भाषा फरक रहेछ

मैले कसरी बुझौँ ?

त्यसैले त आजसम्म पर्खिबसेँ

आउँछौ कि भनेर ।