अवैध रुपमा भारतबाट कुखुरा भित्रिएपछि स्थानीय आक्रोसित

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट अवैध रुपमा कुखुरा भित्रिन थालेपछि स्थानीयले निगरानी बढाएका छन् । खुला सीमानाकाका कारण तस्करहरुले भारतबाट  कुखुरा ल्याएर नेपालमा बेच्न थालेपछि कुखुरा स्थानीय किसानले निगरानी बढाएका हुन् । उनीहरुले मंगलबार बिहान भारतबाट महेन्द्रनगर भित्र्याउदै गरेका तीनवटा मोटरसाइकल सहित झण्डै एक सय कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतीय कुखुराका कारण आफूहरु मर्कामा परेको महाकाली नगरपालिका २ का स्थानीय भरतदत्त भट्टले बताए ।

उनले तस्करहरुले सस्तो मूल्यमा भारतबाट कुखुरा ल्याएर नेपालमा बेच्ने गरेकाले आफूहरु मर्कामा परेको बताए ।

‘उनीहरुले १२० रुपैयाँमा भारतबाट कुखुरा ल्याएर महेन्द्रनगरमा डेढ सयमा बेच्छन्’, उनले भने ‘हामीले उत्पादन गरेको कुखुरा १८० रुपैयाँ प्रतिकिलो बेच्दा पनि घाटा छ ।’

तस्करीको कुखुरा सस्तोमा पाउने भएकाले व्यापारीले आफूहरुको कुखुरा लिन नमान्ने बताउदै लगानी समेत नउठ्ने गरेको उनको गुनासो छ ।

‘चार महिनामा दानाको मूल्य पाँच सय रुपैयाँ बढेको छ’, उनले भने ‘१५÷२० रुपैयाँमा पाउने चल्ला अहिले ९० रुपैयाँमा खरिद गर्न बाध्य छौ ।’

उनले नेपाली व्यवसाय नै धरासायी हुने गरी केहि व्यक्तिले अवैध पैठारी गरिरहेको बताउदै बजारीकरणमा पनि बिचौलीया रहकोे दावी गरे ।

‘अहिले कटरहरुको पनि दादागिरी छ’, उनले भने ‘हामीहरु एकसय २० रुपैयाँ प्रतिकिलोमा दिन बाध्य छौ । तर उनीहरुले त्यहि कुखुराको ३ सय रुपैयाँ प्रतिकिलो मासु बेचिरहेका छन् ।’

महाकाली नगरपालिकाको सीमावर्ती क्षेत्रमा गएर आफूहरुले अनुगमन गर्दा कुखुराको खाली खोर भेटिएको अर्का स्थानीय मानबहादुरले बताए ।

‘हामीले अनुगमन गर्दा दिउँसोमा कुखुराका खोर खाली नै भेट्यौ’, उनले भने ‘तस्करले त बेलुका भारतबाट कुखुरा ल्याएर राति खोरमा राख्ने अनि बिहान महेन्द्रनगरमा ल्याउने गर्दा रहेछन् ।’

यस्तै, अवैध पैठारीका बारेमा स्थानीय प्रशासन भने मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

आफूलाई भारतीय साथीहरुले अवैध रुपमा कुखुराको पैठारी भइरहेको बताएपनि स्थानीय प्रशासनले भने रोक्न नसकेको अर्का स्थानीय लोकेन्द्रसिंह कार्कीले बताए ।